पार्टीभित्र देखा परेका समस्या समाधान गर्न जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षबीच छलफल भइरहेको छ।
बालकुमारीस्थित पार्टी कार्यालयमा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको ठाकुरका स्वकीय सचिव सत्येन्द्र यादवले जानकारी दिए।
उनका अनुसार आन्तरिक रुपमा पार्टीमा देखा परेका समस्या समाधान गर्ने प्रयासस्वरुप छलफल भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने÷नदिनेबारे ठाकुर र यादव पक्ष विभाजित भएका थिए।
ठाकुरपक्षका १५ सांसद तटस्थ बसे पनि यादव पक्षका १५ जनाले भने विपक्षमा मतदान गरेपछि जसपा विभाजनको संघारमा पुगेको विश्लेषण भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि बहुमतको सरकार बनाउन यादवसहित संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई खुलेर लागे भने ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो त्यसलाई रोक्न सक्रिय रहे।
सोही कारण नेपाली कांग्रेसले बहुमतको दाबी गर्न सकेन र संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा ओली नै पुनः प्रधानमन्त्री बने।
यसबाहेक ठाकुरपक्षका बहुमत सांसदहरुले महतोलाई संसदीय दलको नेता चयन गरेको समाचार सार्वजनिक भएपछि यादवपक्षले त्यसलाई अस्वीकार गरेको छ।
ठाकुरनिकट एक नेताका अनुसार आजको बैठकमा कुरा नमिले जसपा औपचारिक रुपमा विभाजनतिर जानेछ।
‘पार्टीभित्र देखा परेका समस्या समाधान हुने दिशातिर गयो भने जसपा एकताबद्ध हुनेछ’, जसपा केन्द्रीय कार्यकारिणी समितिका एक नेताले नेपालखबरसँग भने, ‘यदि समाधान नभए पार्टीको बहुमत सदस्यले यादवलाई कारबाही गरेर जानेछ।’
उता यादवनिकट नेताहरुका अनुसार ठाकुरसँग अन्तिम कुराकानी गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भएको हो।
यदि कुरा नमिले यादव पक्षले पनि ठाकुर–महतोलाई कारबाही गरेर जाने तयारी गरेको छ।
जसपाको हरेक निर्णय गर्ने अधिकार केन्द्रीय कार्यकारिणी समितिमा छ। सो समितिमा आआफ्नो बहुमत रहेको ठाकुर र यादवले दाबी गर्दै आएका छन्।

प्रतिक्रिया