वैकल्पिक सरकार गठनका लागि प्रयास भइरहेका बेला आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलासा भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्टीकरण दिएका छन्।
प्रधानमन्त्री ओलीका कट्टर आलोचक उनैले प्रधानमन्त्रीलाई भेटेको भन्ने चर्चा चलेपछि नकारात्मक प्रचार भएको भन्दै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. भट्टराईले आइतबार बिहान स्पष्टीकरण दिएका हुन्।
ओलीनिकट एमाले नेता महेश बस्नेतले एक अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्रीसँग भेटेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको भनेर दाबी गरेपछि डा. भट्टराईको आलोचना भइरहेको छ।
यसै विषयमा डा. भट्टराईले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भेटेको कुरा सत्य भएको तर भनेको कुरा अर्के भएको भन्दै खण्डन गरेका हुन्।
‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो,’ डा. भट्टराईले भनेका छन्, ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन, प्रम ओलीलाई भेटेकै हो।’
उनले अगाडि भनेका छन्, ‘मैले वर्तमान/पूर्वप्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ। सोचौं !’
ओलीसँग डा. भट्टराईले भेटेको विषयमा एमाले नेता बस्नेतले नकारात्मक प्रचार गरेको भन्दै भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले कडा आलोचना गरेका छन्।
‘एमालेका अपहरण विभाग प्रमुखले छेउटुप्पो नबुझी वान्ता गरेछन्,’ पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर अपहरण विभाग प्रमुखलाई राजनीतिक कुरा, देशलाई निकास दिने कुरा कहाँ पच्छ र? देशको राजनीति स्थिर हुँदा त आफ्नो अपहरण व्यवसाय नै धरापमा जो पर्छ !’
नेता भट्टराईले यसअघि गत बुधबार पनि ट्विटरमार्फत वर्तमानरपूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेका थिए।

प्रतिक्रिया