कोरोना महामारी सामना गर्न चीनले आकस्मिक सहयोगस्वरूप नेपाललाई थप ९ करोड रुपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।
कोरोना संक्रमितको उपचारका क्रममा अक्सिजनको हाहाकार भएपछि नेपालले तत्काल अक्सिजन प्लान्ट उपलब्ध गराउन गरेको आग्रहबमोजिम चीनले ५ मिलियन आरएमबी (करिब ९ करोड ८ लाख रुपैयाँ) आकस्मिक सहयोग दिने घोषणा गरेको हो।
अर्थ मन्त्रालय र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) बीच गत शुक्रबार भएको भिडिओ कन्फरेन्समा नेपालले अक्सिजन प्लान्ट सहयोग गर्न आग्रह गरेको हो।
त्यस क्रममा सिड्काका उपाध्यक्ष बोकिङले नेपाललाई थप ५ मिलियन आरएमबी सहयोग गर्ने घोषणा गरेका हुन्।
यसअघि चीनले नेपाललाई ३ हजार ५ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर दिने घोषणा गरिसकेको छ भने यसअन्तर्गत पहिलो चरणमा ४ सय थान सिलिन्डर र १० थान भेन्टिलेटर ल्याइसकिएको छ।
यस्तै यसअघि चीनले आफ्नो देशमा उत्पािदत ८ लाख डोज कोरोना खोप पनि सहयोग गरिसकेको छ।
शुक्रबारको भिडिओ वार्तामा नेपालका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र चीनका तर्फबाट सिड्काका उपाध्यक्ष देङ बोकिङले नेतृत्व गरेका थिए। दुवै मुलुकका परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समेत प्रतिनिधित्व रहेको वार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन्।
त्यस क्रममा राजदूत यान्छीले कोरोना महामारी नियन्त्रणका लागि चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
भिडिओः ‘कोरोना नियन्त्रण गर्न चीन, बेलायत र स्विट्जरल्यान्डबाट ठूलो सहयोग आउँदैछ’
Shares

प्रतिक्रिया