प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक महामारीसँग जुधिरहेका बेला पनि प्रतिपक्षी र अन्य विभिन्न तत्वहरुले आफ्नो स्वार्थ पुरा गर्न खोजेको आरोप लगाएका छन्।
उनले अस्थिरता चाहने तत्वहरुले लोकतान्त्रिक मूल्य मान्यता अनुसार संविधान र कानुनअनुसार देश चल्ने कुरालाई पनि अस्वीकार गरेको बताएका छन्।
‘आफूले सरकार बनाउन नसके पनि प्रतिगमन, अरुले बनाए पनि प्रतिगमन, नक्कली चस्मा लगाएर जनतालाई भ्रममा पार्न खोजेका छन्,’ शुक्रबार प्रधानमन्त्रीको रुपमा शपथ खाएपछि पुनः नियुक्ति पाएका मन्त्रीहरुसँगलाई निर्देशन दिने क्रममा उनले भने, ‘शान्ति कायम हुन नदिने, अस्थिरता पैदा गर्ने प्रयास गरेका छन्।’
उनले राजनीतिक पार्टी तथा नेता कार्यर्ताहरुले यस्तो अवस्थामा आफ्नो स्वार्थ सिद्ध गर्नेतर्फ नलाग्न आग्रह गरे।
सरकार संविधान र कानुनका स्पष्ट व्यवस्था र मर्यादाअनुसार कोभिड–१९ विरुद्ध जुटेको उनको जिकिर छ।
‘हाम्रा सहयोगी, छिमेकीले सहयोगको हात बढाइरहेका छन्। यस्तो बेलामा देश र जनताप्रति चिन्तित नहुने तर आफ्ना स्वार्थमा लाग्ने विलकुलै राम्रो होइन,’ उनले भने, ‘एकजुट भएर कोरानाविरुद्ध लड्नुपर्ने बेलामा सरकारका कामलाई ओझेल पार्न खोज्ने, जतापनि भ्रष्टाचार देख्ने, काम गर्ने व्यक्ति तथा संस्थालाई हतात्सहित गर्ने काम भएको छ।’
नीजि क्षेत्र, नीजि अस्पताललगायत स्वास्थ्य क्षेत्रलाई कोरोनासँग लड्न जिम्मेवारीबोधका साथ सक्रिय हुन उनको आग्रह छ।
‘अक्सिजन उत्पादन पूर्ण क्षमताका साथ हुनुपर्छ कुनैपनि मानेमा चलेन भन्ने हुनुहुँदैन, वितरणलाई व्यवस्थित हुनुपर्छ,’ उनले भने, ‘सोर्सफोर्स होइन आवश्यकताका आधारमा वितरण हुनुपर्छ।’

प्रतिक्रिया