ad ad

राजनीति


ठूलाे दलका रूपमा सरकारकाे दाबी गर्ने ओलीकाे संकेत

ठूलाे दलका रूपमा सरकारकाे दाबी गर्ने ओलीकाे संकेत

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ११:४५,

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाए पनि संसदको ठूलो दलको रुपमा सरकार गठन गर्नसक्ने बताएका छन्।

संसदमा विश्वासको मतमाथि विभिन्न दलका नेताहरुको धारणा सुनेपछि ओलीले त्यसको जवाफ दिँदै सो कुरा बताएका हुन्।

सबैभन्दा ठूलो पार्टीको हैसियतले पनि बढी जनमतका आधारमा पनि, सबैभन्दा बढी सिट भएको पार्टीको हैसियतले पनि सबैपक्षलाई मिलाएर अगाडि जान्छु भन्दा पनि न्यायोचित हिसाबले हेर्दा आफैँले सरकार बनाउने हक राख्ने उनको भनाइ छ।

उनले भने, ‘विश्वासको मत भनेको संसदको बाहिर गरिएको हल्ला होइन। संसदबाहिरको आरोप प्रत्यारोप होइन। म कसैलाई आरोपित वा लाञ्छित गरिराखेको छैन।’

संसदको विश्वास छ भन्ने कुराको पुष्टि नभए मार्गप्रशस्त गरिदिनुपर्ने दायित्व आफूमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले पहिला संसदले सुविचारित ढंगले फैसला गर्नुपर्ने बताए।

‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन? संसदले आदेश दिओस् आज। छैन भने मार्गप्रशस्त गरिदिन्छु’, ओलीले संसदमा भने।

संसदको आदेशसँगै मार्ग प्रशस्तै भइहाल्ने उनको दाबी थियो।

यसलाई कुनै जालझेल तिकडम र षड्यन्त्रको रुपमा नबुझ्न उनको आग्रह थियो।

‘म त यस गरिमामय संसदको अगाडि राजनीतिक स्थिरता, सहमति र सहकार्यका साथ देशलाई अगाडि बढाउनको लागि आएको छु’, उनले भने।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने भएपछि फेरि अर्को धारामा टेकेर प्रधानमन्त्री हुने, संसद् विघटन गर्ने र चुनावमा जाने बाटो बनाउन खोजेको हो भन्दै प्रश्न गरेका थिए।

प्रचण्डले ओलीले विश्वासको मत माग्ने बहानामा अर्को षड्यन्त्र बुनेको बताएपछि ओलीले त्यसको जवाफ दिँदै षड्यन्त्रका रुपमा नबुझ्न आग्रह गरेका थिए।

प्रचण्डले ओलीलाई प्रश्न गर्दै भनेका थिए, ‘तपाईँको यसमा केही योजना रहेको छैन भनेर कसरी विश्वास गर्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .