राजनीति


सरकारले औषधिमा समेत भ्रष्टाचार गरेर अनैतिकता देखायो : कांग्रेस

सरकारले औषधिमा समेत भ्रष्टाचार गरेर अनैतिकता देखायो : कांग्रेस

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १४:४१,

नेपाली कांग्रेसले सरकारकै संलग्नतामा कोरोना भाइरसविरुद्धको औषधि (खोप) मा भ्रष्टाचार भएको आरोप लगाएको छ।

कोरोना संक्रमणको भयावह अवस्था हुँदासमेत सरकार गम्भीर नबनेको बरु उल्टै भ्रष्टाचारमा डुबेर अनैतिक काम गरेको कांग्रेसले बताएको छ।

सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न माग गरेका छन्।

उनले जनताको जिवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्न पनि माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ
‘कोभिड–१९ को महामारी दिनानुदिन विस्तार भइरहेको छ। दैनिक हजारौंको संख्यामा कोभिडका बिरामी थप हुँदै छन्। देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आईसीयू बेड र औषधिको नितान्त अभाव भएको छ।

अक्सीजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको दयनीय घटना देखा परेका छन्। कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन।

हाम्रो पार्टीले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन।

विज्ञहरुले कोभिडको पटक–पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनि दिएको चेतावनीलाई सरकारले सुनेन। सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन।

समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन। फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ।

यस्तो अवस्था सृजना हुनमा यो सरकार पूर्णरुपमा जिम्मेवार छ। अहिले कमीशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ। सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होइन। जनताको जिवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो।

जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषधि (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ। सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु। यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु। नेपाली जनताको जिवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गर्दछु।

देशमा व्याप्त यस विषम घडीमा सबै दाजुभाई, दिदीबहिनीमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न हार्दिक अनुरोध गर्दछु। देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्दछु।’

शेरबहादुर देउवा
सभापति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .