राजनीति


प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक, सभामुख र कांग्रेस सभापति नजाने

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक, सभामुख र कांग्रेस सभापति नजाने

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ११:३३,

प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २६ गते संवैधानिक परिषद्को बैठक बोलाएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बैठक बोलाइए पनि उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख भने नजाने भएका छन्।

विश्वासको मत लिने अघिल्लो दिन उनले बैठक बोलाए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने भएका हुन्।

‘पर्सि (आइतबार) बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख जानुहुन्न’, सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले नेपालखबरसँग भने, ‘यसअघि संवैधानिक परिषद् अध्यादेश जारी गरिएको विषय, सोही अध्यादेशका आधारमा गरिएका नियुक्ति र शपथप्रति उहाँले गम्भीर असहमति जनाउँदै आफैँ उपस्थित भएर सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो, जुन विचाराधीन नै छ।’

कांग्रेस सभापति देउवा समेत सो बैठकमा नजाने उनका स्वकीय सचिवालयका भानु देउवाले जानकारी दिए।

अघिल्ला दुईवटा बैठकमा सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थिति भएका थिएनन्।

साेही कारण ओली सरकारले ०७७ मंसिर ३० गते प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गरिसकेकी छिन्। 

अध्यादेश जारी गराएसँगै ०७७ मंसिर ३० गते नै प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनासहित तीन जनाको बैठक बसेको थियो।

सोही बैठकले संवैधानिक निकायहरुमा ३२ जनालाई नियुक्त गरेको थियो। त्यसप्रति सभामुख सापकोटा असन्तुष्ट थिए।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ ले परिषद्को बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साबिकको व्यवस्था थियो।

तर सरकारको सिफारिसमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भए परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्थासहित राष्ट्रपतिबाट नयाँ अध्यादेश जारी भएको थियो।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था थियो।

हाल उपसभामुख पद रिक्त छ। अब परिषदमा अध्यक्षसहित तीन जना सदस्य उपस्थित भएमा बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्थाप्रति सभामुख सापकोटाले आपत्ति जनाउँदै आएका छन्। सोही कारण उनी अनुपस्थित हुनलागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad