विवेकशील साझा पार्टीले कोरोना भाइरस विरुद्धको भारतीय खोप खरिद प्रक्रियामा अवरोध एवम् अन्य मुलुकमा उत्पादित खोप ल्याउन सरकारको अलमलबारे हालै सार्वजनिक समाचार विवरणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
खोप प्रकरणबारे हालसम्म सार्वजनिक समाचार र तथ्यहरूको समीक्षा पश्चात् आफ्नो अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता ढाकछोप गर्न आंशिक रूपमा दोषको भागीदार देखिएका व्यापारीहरूको थाप्लोमा सम्पूर्ण दोष थोपरेर सरकार आफू चाहिँ चोखिने प्रयत्न गरिरहेको निष्कर्षमा पुगेको विवेकशील साझाले जनाएको छ।
सोही सन्दर्भमा सरकारलाई विवेकशील साझाले केही प्रश्नसमेत सोधेको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा प्रश्न गर्दै भनिएको छः
१) महामारीजस्तो राष्ट्रिय र विश्वव्यापी संकटका बेला यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही गरिएन?
२) केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरूको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छ? फेरि, त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरूबाटै संरक्षित छैनन् र?
३) भारतीय उत्पादकबाट खोप ल्याउन विचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध गर्यो?
४) प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए। मानिलिऊँ, कसैले अवरोध नगरेर भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त हुने थिएन। बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म के गरेको छ?
‘चाहे व्यापारी हुन् या सरकार, यस्तो विपदमा पनि निहित स्वार्थ वा लाभबाट प्रेरित भएर खोप आयातमा अवरोध सिर्जना गर्नु तथा अलमल गर्नु अक्षम्य अपराध हो। यसर्थ खोप प्रकरणमा संलग्न सबैमाथि छानबिन होस्, दोषी देखिएमा कडा कारबाही होस्’ विज्ञप्तिमा भनिएको छ।
सो पार्टीले भारतीय कम्पनीलाई पैसा तिरेर पनि प्राप्त हुन बाँकी १० लाख डोजसहित आवश्यक परिमाणको खोप अन्य मुलुकबाट चाँडो आयात गर्न माग गरेको छ।

प्रतिक्रिया