राजनीति


कार्यकर्तालाई मन्त्री पण्डितको सुझाबः गंगटा हैन कमिलाजस्तै बन्नुहोस्

कार्यकर्तालाई मन्त्री पण्डितको सुझाबः गंगटा हैन कमिलाजस्तै बन्नुहोस्

नेपालखबर
साउन ३२, २०७६ शनिबार ७:२१,

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिस्टहरुलाई गंगटाजस्तो नभई कमिलाजस्तो बन्नुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले गंगटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका हुन्।
‘गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ’, उनले भने, ‘अब कार्यकर्ता गंगटो हैन कमिलो बन्न सिकौँ।’ उनले कम्युनिस्ट विचार बोकेका मानिस भीडको पछि नलागी असल कार्य गर्न लाग्न सुझाब दिए।

‘अहिलेको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा सरकारको मात्र हैन’, मन्त्री पण्डितले भने, ‘यो त कम्युनिस्टको पनि हो, त्यसैले सानातिना कार्यमा नअल्झिन कार्यकर्तालाई आग्रह गर्दछु।’

संघीयताको कार्यान्वयन सफलरुपमा हुनु भनेको नेपाल समृद्धतर्फ लम्कनु हो भन्दै मन्त्री पण्डितले सबै कार्यकर्तालाई सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गरे। ‘हाम्रा नेता तथा कार्यकर्ता साना कुरामा अल्झिने हैन’, उनले भने, ‘आन्तरिक किचलो आन्तरिक रुपमै मिलाउ बाहिर नल्याउ।’ उनले स्थानीय तहमा कर्मचारीको अभाव छिट्टै हटेर जाने जिकिर गरे।

सरकार व्यावहारिक परिवर्तनका काम गर्दै आएको भन्दै मन्त्री पण्डितले परिणाम आउन केही समय लाग्ने बताए। उनले सरकार विरोधी तत्वहरु आफैँ निरुत्साहित भएर जानेसमेत दाबी गरे। उनले शनिबार बिहानै बागलुङ नगरपालिका–४ कुडुलेस्थित निर्माणाधीन भूमिगत शालीग्राम संग्राहालयको अनुगमन र कालिका मन्दिरको दर्शन गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .