गएको २४ घण्टामा मात्र त्यहाँ सोही हिंसाका कारण ३ जनाको ज्यान गएको छ। यससँगै चुनावी हिंसामा परी मृत्यु हुनेको संख्या १७ पुगेको बीबीसीहिन्दीले जनाएको छ।
सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले मृतकमध्ये ९ जना आफ्नो कार्यकर्ता भएको दाबी गरेको छ। यस्तै मृतकमध्ये सात आफ्नो कार्यकर्ता भएको चुनाव जित्ने दल तृणमूल काँग्रेसले जनाएको छ।
भाजपाका कार्यकर्ताको आक्रमणमा परेर आफ्नो कार्यकर्ताको मृत्यु भएको तृणमूल काँग्रेसको भनाइ छ भने तृणमूल काँग्रेसको शारीरिक आक्रमणमा आफ्नो कार्यकर्ता मारिएको भाजपाको आरोप छ। यस राज्यका केही हिस्सामा तोडफोड र आगजनी भएका खबर पनि आइरहेका छन्।
ममता बनर्जीले चुनाव हारेपनि बुधबार तेस्रो कार्यकालको लागि मुख्यमन्त्रीको शपथग्रहण गरिसकेकी छिन्।
उनी विधानसभा चुनावमा भाजपाका उम्मेदवारसँग पराजित भएकी थिइन्।
चुनावमा हारेकी उनले भाजपाले चुनावमा धाँधली गरेको बताउँदै मतगणना पुनः हुनुपर्ने माग गरेकी थिइन्। निर्वाचन आयोगसँगै अदालतले उनको आग्रह अस्वीकार गरेको थियो।

ममताले आफू पराजित भएपछि पनि हार नस्वीकारेपछि त्यहाँ साम्प्रदायिक हिंसा भड्किएको आरोप लागेको छ।
हाल भाजपाका अध्यक्ष जे।पी नड्डा कोलकत्तामा छन्। मंगलबार साँझ बनर्जीको पार्टीको कार्यकर्ताको आक्रमणबाट दुई भाजपा कार्यकर्ताको मृत्यु भएको खबरपछि श्रद्धाञ्जली दिन उनी त्यहाँ पुगेका हुन्।
गएको २४ घण्टामा मेदिनीपुर, पश्चिम मेदिनीपुर, बिरभूम, जलपाइगुडी र दक्षिण दिनाजपुरमा हिंसाको खबर आएका छन्।
मेदिनीपुरका पूर्व भाजपा अध्यक्ष पलय पालका अनुसार त्रिणमूल काँग्रेसका कार्यकर्ताको आक्रमणबाट बच्न भाजपाका कार्यकर्ताहरु घरबाट भागेका छन्। यस्तै पश्चिम मेदिनीपुरका भाजपा नेता अरुप पालका अनुसार त्रिणमूल काँग्रेसले विभिन्न क्षेत्रमा ताण्डप मच्चाइरहेका छन्।
ममता बनर्जीले भने हिंसाको घटनालाई बढाई–चढाई गरेर बंगालमा राष्ट्रपति शासन लागू गर्ने प्रयास भएको आरोप लगाएकी छिन्।

प्रतिक्रिया