ad ad

राजनीति


राणा शासन अन्त्य गर्न बीपीसँगै संघर्ष गरेका खनाल भन्छन्: जनताले अझै परिवर्तनको अनुभव गर्न पाएनन्

राणा शासन अन्त्य गर्न बीपीसँगै संघर्ष गरेका खनाल भन्छन्: जनताले अझै परिवर्तनको अनुभव गर्न पाएनन्

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ३:१४,

नेपालमा २००७ सालको क्रान्तिको सफलतासँगै भएका विभिन्न राजनीतिक आन्दोलन र त्यसबाट भएको परिवर्तनकको जगमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। परिवर्तनकै लागि धेरै नेपालीले बलिदानी दिएका छन्।

पटकपटकको संघर्षको जगमा स्थापित लोकतन्त्र दिवस मनाइरहँदा तत्कालीन समयमा योगदान गर्नेहरू अझै ओझेलमा छन्। राणा शासन अन्त्यका लागि २००६ सालमा मुक्ति सेनामा खटिएका व्यक्ति हुन्, तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीका ९१ वर्षीय नारायणदत्त खनाल।

राजनीतिज्ञ श्रीभद्र खनालको प्रेरणाले आफू तत्कालीन समयमा मुक्ति सेनामा आबद्ध भएको बताउँदै उनले त्यस क्रममा आफूसहितका साथीहरूले धेरै दुःखकष्ट भोग्नुपरेको अनुभव सुनाए।

विसं २००७ को परिवर्तन पछि २००८ सालमा मुक्ति सेनालाई रक्षा दलमा परिणत गरिएको थियो। तत्कालीन समयमा जनपक्षीय सेनाका रूपमा रहेको आफूसहित ६६४ जनाको टोली मुक्ति सेनामा आबद्ध रहेको जानकारी दिँदै उनले २००८ सालमा सिंहदरबारभित्र क्याम्पमा रहँदा आफूले सेनाका अधिकृतका साथै तत्कालीन युवराज महेन्द्रसँग समेत फुटबल खेलेको अनुभव सुनाए।

रक्षा दलका तर्फबाट फुटबल खेल्दाका धेरै रोचक कुरा आफ्नो स्मृतिमा अझै ताजा रहेको उनले बताए।

रक्षा दलसँगकै आबद्धताका क्रममा २००८ सालमा बीपी कोइराला पोखरा हुँदै बागलुङ जाने क्रममा उनीसँगै काठमाडौँबाट पोखरासम्म ८ दिन हिँडेर आएको बताउँदै उनले बीपीले आफूसँग आएका साथीभाइको खानपिन आदि समस्याबारे निकै चासोका साथ जानकारीमा राख्ने गरेको उल्लेख गरे।

‘आफूसँग आएकाले के के खाए, सुताइ कस्तो भयो आदिबारे बीपीले निकै चासो दिनुहुन्थ्यो,’ उनले भने।

विसं २००८ पछि रक्षा दलमा आबद्धमध्ये १६४ जनाको बखानसिंह गुरुङ नेतृत्वको टोली सिंहदरबारबाट छुट्टिएर जोगवनी हुँदै विराटनगरसम्म पुगेको जानकारी दिँदै उनले उक्त टोली २०१४ सालसम्म उदयपुर, भोजपुर, उदयपुरगढीलगायतका स्थानमा पुगेको बताए।

‘हाम्रो टोलीलाई तत्कालीन समयमा पश्चिमा टोली भन्ने गरिन्थ्यो,’ उनले भने।

रक्षा दलमा रहँदा त्यहाँ खटिएबापत मासिक १५ रुपैयाँसम्म पारिश्रमिक पाउने गरेको र अधिकतम २० रुपैयाँसम्म पाएको खनालले सुनाए।

यसबीच आफूहरूले गरेको योगदानका आधारमा स्थायी गरिनुपर्छ भन्ने माग राखे पनि सुनुवाइ हुन नसकेको र २०१४ सालमा टोलीका कमान्डर बखानसिंह गुरुङले स्थायी गर्न नसकिएको भन्दै राजीनामा दिन भनेपछि आफूसहितका १० जनाले राजीनामा दिएको उनले सुनाए।

‘हामीले राजीनामा दिए पनि पछि अरू केही साथीलाई भने स्थायी गरियो,’ खनालले भने।

स्थायी नभए पनि योगदानको कदर गर्दै चितवनको बखानटारमा जग्गा उपलब्ध गराउनेजस्ता विभिन्न आश्वासन पाइए पनि ती सुविधाबाट आफूहरू वञ्चित बनेको उनको गुनासो छ।

विसं २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तत्कालीन जामुने गाउँ विकास समिति वडा नं १ को वडाध्यक्षको उम्मेदवार बनेका उनले निर्वाचनमा विजयी भएपछि गाउँ टोलका बाटोघाटो, पानी पँधेरो, पुल पुलेसो आदिको व्यवस्थापनमा समय खर्चिएको बताए।

‘त्यस समयमा त अहिलेको जस्तो पैसा पनि हुने थिएन, जनश्रमदानसहित उपलब्ध साधनस्रोतको उपयोग गर्दै विकास निर्माणका काम अघि बढाइन्थ्यो,’ उनले थपे।

आफूजस्ता धेरैका योगदानको जगमा देशमा ठूला ठूला परिवर्तन आए पनि नेपाली जनताले अझै पनि वास्तविक परिवर्तनको अनुभव गर्न नपाएकामा खनालको दुःखेसो छ।

जनताले विश्वास गरेका दलबीच नै आपसी खिचातानी, आरोप प्रत्यारोपका साथै आर्थिक अनियमितता, भ्रष्टाचार आदिले विगतमा योगदान गरेकाप्रति अपमान हुने बताउँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .