नेकपा–एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन्।
सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको अध्यक्ष ओलीले पालना नगरेको भन्दै नेपाल र खनालले मुद्दा दायर गर्न लागेका हुन्।
‘अध्यक्ष ओलीले फागुन २३ को फैसलाको सम्मान नगरेको भनी नेताहरु सर्वोच्चमा मुद्दा हाल्ने तयारी गर्नुभएको हो,’ एमाले नेता बेदुराम भुसालले नेपालखबरसँग भने।
तत्कालीन नेपाल कम्युष्टि पार्टी (नेकपा) को नामबारे परेको रिटमा फागुन २३ गते फैसला सुनाउँदै सर्वोच्च अदालतले एमाले र माओवादीको एकीकरणलाई नै बदर गरेको थियो।
अदालतले ती दुवै पार्टी एकीकरणभन्दा पूर्वको अवस्थामा पुग्ने आदेश दिएको थियो।
तर सो आदेशविपरित अध्यक्ष ओलीले आफू अनुकूल पार्टीका समितिहरुको पुनर्गठन तथा परिचालन गरेको भनी नेपाल–खनाल समूहले विरोध गर्दै आएको छ।
उनीहरुले पार्टी एकीकरण गर्नुअघि अर्थात २०७५ जेठ २ गते कायम रहेका पार्टीका समितिहरु क्रियाशील बनाउन माग गर्दै आएका छन्।

प्रतिक्रिया