नेकपा एमालेका सचिव गोकर्ण बिष्टले पार्टी नेताहरुमाथि सुरु गरिएको कारबाही प्रक्रियाले एमालेको एकता गम्भीर संकटमा पारेको बताएका छन्।
उनले अदालतको फैसला बमोजिम एमालेलाई एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्चालन गर्नुपर्ने बताएका छन्।
‘एउटा इमान्दार कार्यकर्ताकोलागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथी हुन्छ। यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधिमार्फत् समाधान खोज्न म आग्रह गर्दछु, पार्टी एकताको रक्षा गरौं,’ बिष्टले मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनले केहि समययता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथी कारबाहीका घटनाहरु अघि बढाइएको बताएका छन्।
यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको र संवादहीनता र कारबाहीको बाटो कुनै पनी हालतमा समाधान हुन नसक्ने उनको भनाइ छ।
‘अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ,’ बिष्टले भनेका छन।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका २७ जना नेताहरुलाई ‘तपाईंहरुलाई सांसद पदबाट किन नहटाउने’ भनी स्पष्टीकरण सोधेकै दिन बिष्टले त्यस्तो कारबाही प्रक्रियाविरुद्ध आवाज उठाएका हुन्।
यो पनिः
माधव नेपालसहित यी २७ नेतालाई ओलीको प्रश्न– तपाईंलाई सांसद पदबाट किन नहटाउने? (पत्रसहित)
प्रतिक्रिया