नेकपा एमालेले संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ।
माधवकुमार नेपालसहित उनी पक्षका २७ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले नेपालखबरलाई जानकारी दिए।
कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने ४ जना प्रदेश सांसद सहित मत दिएर पछि फिर्ता लिने एक जना सांसदलाई स्पष्टीकरण पठाउने तयारी भएको उनले बताए।
कर्णाली प्रदेशमा पार्टी ह्वीप उल्लंघन गरेकोले स्पष्टीकरण सोध्न लागिएको हो।
नेकपा एमालेको सोमबार बसेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले नेता नेपालसहितका २० जनालाई थप कारवाही गर्ने निर्णय गरेको थियो।
वरिष्ठ नेता माधव नेपालसहित पार्टीका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीले यसअघि नै स्पष्टीकरण सोधी निलम्बन गरिसकेको छ। उनीहरुलाई यसपटक सोधिएको स्पष्टीकरण भने सांसद पदबाट कारबाही गर्नका लागि गरिएको हो।
अन्य नेताहरुलाई भने पहिलोपटक स्पष्टीकरण सोध्न लागिएको हो।

प्रतिक्रिया