ad ad

राजनीति


माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, सरकारलाई दिएको समर्थन फिर्ता लिने

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ९:१६,

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्नको लागि नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।

भोलि सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताइएको छ।

‘अहिलेसम्मका छलफललाई हेर्दा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने निश्चित भएको छ, भोलि बस्ने बैठकबाट निर्णय गछौं,’ स्थायी समिति सदस्य मात्रिका यादवले नेपालखबरसँग भने, ‘कर्णाली प्रदेशमा माओवादी मुख्यमन्त्रीले विश्वास मत पाएपछि यसले केन्द्रीय सरकारमा गर्नुपर्ने समीकरणका लागि पनि एउटा मार्गनिर्देश गरेको छ।’

कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले संघीय सरकारमा पनि ओली सरकार फेर्ने गृहकार्य गरेको हो।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको बताएका थिए।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेको बताउँदै दाहालले लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तनका निम्ति करिब बहुमत सदस्यको हस्ताक्षर संकलन भइ नै सकेको बताएका थिए।

त्यसका लागि आफूले बिभिन्न तहमा छलफल वार्ता तीव्र पारेको उनले जानकारी दिएका थिए।

त्योसँगै स्थायी समिति बैठकले पार्टीको केन्द्रीय समिति बैठकको मिति पनि तय गर्ने यादवले बताए।

उनले सो बैठकले पार्टीको राष्ट्रिय भेला बोलाउने निर्णय पनि गर्नसक्ने बताए।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरेर एमाले र माओवादी केन्द्रमा विभाजित भएपछि माओवादी केन्द्रले आफ्ना सबै तहका नेता कार्यकर्तालाई एकीकृत निर्देशन दिन आवश्यक रहेको आवाज उठेको यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .