सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने जनाइएको छ।
यसअघि साउन ८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार, भदौ १५ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’ पुस १० गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र माघ १ गते (माघे सङ्क्रान्ति)मा सार्वजनिक बिदा दिइएको छ।
सुदूरपश्चिममा सदियौंदेखि मनाइँदै आएको मौलिक सांस्कृतिक गौरा पर्वको बिदाका विषयमा भने प्रदेश सरकारले कुनै निर्णय नगरेकोप्रति स्थानीयको गुनासो बढेको छ। गौरा पर्वमा यसअघि विगतका वर्षमा संघीय सरकारले गौरापर्व मनाइने क्षेत्रमा एक दिन सार्वजनिक बिदा दिने गरेको थियो।
सांस्कृतिक पर्व गौरा र ‘ओल्के पर्व’मा बिदा दिने वा नदिने विषयमा सरकार अनिर्णित हुँदा मौलिक संस्कृतिको संरक्षण सम्वद्र्धनप्रति उदासिनता देखाइएको प्राध्यापक लेखराज ओझाले गुनासो गरे। रासस

प्रतिक्रिया