नेकपा एमालेका नेता भीम रावलले नयाँ वर्ष २०७८ सुरु भएको उपलक्ष्यमा बुधबार (वैशाख १ गते) कवितामार्फत शुभकामना दिएका छन्।
कवितामा उनले देशभक्तिको भावना प्रकट गर्दै निरंकुशताको कडा विरोध गरेका छन्। कोरोना अन्त्यको कामना गर्दै देश र जनताको समृद्धि र शान्तिका लागि शुभेच्छा व्यक्त गरेका छन्।
रावल लेख्छन्–
नौलो वर्ष हर्ष बढोस् !
नौलो वर्ष हर्ष बढोस् कोही नहुन् दुःखी यहाँ
स्वाधीनता, स्वाभिमान देशको बलियो बनोस् जहाँ
स्वेच्छाचारी, अत्याचारी सबको शीघ्र होओस् पतन
देशभक्ति सर्वत्र ढकमक्क भई यहाँ होस् सुशासन।
नमिचियोस् सीमा देशको यो धरती मुस्कुराइरहोस्
हस्तक्षेप पराईको सबै विनाश हुँदै झरोस्
सूर्य–चन्द्र ध्वजा उठोस् सगरको माथि माथि
विदेशी जासुस नपुगोस् कोही बालुवाटारमा राति।
समृद्धि फैलियोस् समाजमा लालिमाझैं वसन्तको
पूरा हुँदै जाउन् सधैं इच्छा, आशा अन्तरमनको
जीवन सदा स्वस्थ रहोस् कोरोना नष्ट भई जाओस्
पंख फिँजाई खुसीयाली सर्वत्र घरघरमा पुगोस्।

प्रतिक्रिया