ताइवानको रक्षा मन्त्रालयका अनुसार चिनियाँ जनमुक्ति सेनाका आणविक क्षमता भएका बम्बर विमानहरु पूर्व जानकारी बिनै ताइवानको हवाई रक्षा पहिचान क्षेत्र एडीआइजेटमा प्रवेश गरेका हुन्।
मन्त्रालयका अनुसार चीनद्वारा गरिएको यो यसवर्षकै ठूलो हवाई उल्लंघन हो। इन्डो–प्यासिफिक क्षेत्रमा चीनको आक्रामकता बढ्दै गएको अमेरिकी भनाइबीच बेइजिङले आफ्नो भूमि भएको दाबी गर्ने ताइवानमा सैन्य विमानहरु पठाएका हुन्।
चीनले ताइवानलाई आफ्नो प्रान्त भएको बताउँछ तर लोकतान्त्रिक ताइवानले भने आफैंलाई सार्वभौम राज्यको रुपमा हेर्छ।
ताइवानको मन्त्रालयलाई उदृत गर्दै बीबीसीले दिएको जानकारीअनुसार सोमबार चीनका १८ युद्धक विमान, चार बम्बर, दुई पनडुब्बी पहिचान गर्ने विमान र एक चेतावनी दिने विमान ताइवानको क्षेत्रमा घुसेका थिए।
चीनले लगातार ताइवान नियन्त्रित दक्षिण चीन सागरको प्राटस टापुमा विमानहरु पठाइरहेको छ। किनभने चीनले दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा आफ्नो अधिकार भएको दाबी गर्दछ।
ताइवान अलग्याउने कदम चालिए आक्रमण गरेरै यो क्षेत्रलाई कब्जामा लिइने गतवर्ष चीनका राष्ट्रपति सी चिनफिङले बताएका थिए।
पछिल्लो समय अमेरिका र ताइवानबीच हतियार व्यापारका लागि विभिन्न सम्झौता भएका छन्। जुन कार्यबाट चीन रुष्ट छ।
अमेरिकाले एक चीन नीतिमा प्रतिवद्धता व्यक्त गरेतापनि चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानलाई हतियार बेचेर उसले चीनसँगको सम्झौता उल्लंघन गरेको देखिन्छ। बीबीसी
याे पनि: अहिले नै हो चीनका लागि ताइवान कब्जा गर्ने सबैभन्दा उपयुक्त समय

प्रतिक्रिया