प्रतिनिधि सभामा नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको प्रगति देख्दा कहिले काँही लोभ पनि लाग्ने गरेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक महरले रास्वपा नेताहरूले छोटो समयमै प्रगति गरेको औँल्याए। ‘यहाँहरूलाई देख्दा कहिले काँही लोभ पनि लाग्छ,’ महरले थपे, ‘म ४४ वर्षको भए, आन्दोलनमा लागेको २९–३० वर्ष भयो। स्वयंसेवक भएर, होलटाइमर भएर लागे। आज बल्ल माननीय भइयाछ।’
तर, रास्वपाका नेता भने राजनीतिमा लागेको छोटो समयमै सम्मानीय पदमा पुगेको उल्लेख गरे। ‘राजनीति गरेको ६ महिना पुग्या छैन, गृहममन्त्री। चार वर्षमा प्रधानमन्त्री। तीन महिनामा सांसद भएर आउनु भएको छ,’ उनले थपे, ‘यहाँहरूको प्रगति उन्नति देख्दा कहिले काँही हामीलाई पनि आहा लाग्छ।’
यससँगै चिन्ता पनि लाग्ने गरेको उनले सुनाए। सत्य र तथ्य विचार नगरी हिड्दा देश र जनताले प्राप्त गरेका उपलब्धि गुम्ने चिन्ता लागेको उनको भनाइ थियो।
‘सँगसँगै चिन्ता र डर पनि लाग्छ। प्रश्नहरू पनि सिर्जना हुन्छ,’ महरले थपे, ‘कतै यो उपलब्धिले देशको राष्ट्रियतालाई, लोकतन्त्रलाई र नेपाली जनताका आकांक्षा र चाहनालाई कतै आधोगतितिर लाने त होइन।’
Shares

प्रतिक्रिया