ad ad

विचार


अहिले नै हो चीनका लागि ताइवान कब्जा गर्ने सबैभन्दा उपयुक्त समय

अहिले नै हो चीनका लागि ताइवान कब्जा गर्ने सबैभन्दा उपयुक्त समय

टाइलर कावन
चैत २५, २०७७ बुधबार १६:१४,

यतिबेला संसारको सबैभन्दा ठूलो जोखिमबारे सोच्दा मात्रै पनि पीडा हुन्छ। आगामी पाँचदेखि ६ वर्षभित्र, सम्भवतः त्यसभन्दा छिटै चीन र ताइवानबीचको सम्बन्ध झन खराब भएर जाने सम्भावना उच्च छ।

अचानक एक दिन बिहान उठ्दा ताइपेईमाथि नै बम बर्सेको समाचार जताततै छाउने स्थिति भने होइन। किनभने चीनसँग अरु विकल्प छन्। उसले पहिले किनमेन र मात्सु टापु कब्जा गर्न सक्छ। यी दुई टापु चीनको तटनजिकै छन्, जसलाई ताइवानले दाबी गर्ने गर्छ। चीनले यी टापु बिनाकुनै रक्तपात कब्जा गर्न सक्छ। त्यसपछि अब के गर्ने भनेर ताइपेइ र वासिङ्टन दुवैसँग वार्ता अघि बढाउन सक्छ। त्यतिबेला ताइवानले निकै गहिरोगरी सोच्नुपर्ने हुन्छ।

चीनले यसअघि पनि किनमेन र मात्सु टापुलाई नियन्त्रण्मा लिने प्रयास गरेको थियो। सन् १९५८ मा चीनले अतिक्रमणको प्रयास गरेपछि ताइवानले अमेरिकाको सहयोगमा यी टापु बचाएको थियो। त्यसपछि अप्ठेरो खालको गतिरोध उत्पन्न भयो। त्यसअघि १९५४–५५ मा पनि त्यहाँ संकट आएको थियो। तर, नतिजा अनिर्णित रह्यो। अहिले पनि टक्करको सम्भावना छ। तर, त्यसका लागि आधारभूत रुपमा अलग तरिकाले हिसाबकिताब गर्न जरुरी छ। किनभने अहिले चीनको सैन्य र आर्थिक शक्ति त्यसबेलाको तुलनामा निकै बढी छ।

ताइवानमाथि आक्रमणको बदलामा के अमेरिकाले चीनमाथि सीधा हमला गर्ला? यो सम्भव देखिँदैन। त्यस्तै, चीनमाथि समुद्री नाकाबन्दी पनि सम्भव छैन। किनभने त्यसले ठूलो युद्धको सुरुवात गर्नेछ। सम्भवतः अमेरिकाले चीनमाथि केही प्रतिबन्ध लगाउनेछ। तर, अमेरिका आफैँ आर्थिक रुपले चीनमाथि निर्भर छ। त्यसमाथि युरोपेली संघ पनि प्रायः चीनलाई अझ महत्वपूर्ण व्यापारिक साझेदार मान्ने गर्छ।

जस्तोसुकै प्रतिबन्ध लागे पनि चिनियाँहरुले त्यसलाई स्वभाविक मान्न सक्छन्। किनभने राष्ट्रपति सी चिन फिङ र चिनियाँ कम्युनिस्ट पार्टी दुवैले ताइवान मुद्दा मुख्य प्राथमिकता भएकोमा बारम्बार जोड दिँदै आएका छन्। केही न केही जोखिम नमोल्ने भए उनीहरुले ताइवानलाई त्यति धेरै महत्व दिने थिएनन्।

चीनले तत्काल ताइवानमा हस्तक्षेप नगर्ला भन्नेहरुले सबैभन्दा बढी दोहो¥याउने तर्क हो– ‘यतिबेला समय चीनको पक्षमा छ।’ अमेरिकाको तुलनामा चीनको अर्थतन्त्र आगामी दिनमा बढ्दै जाने सम्भावना छ। त्यस्तै चीनको सैन्य शक्ति पनि वृद्धि हुनेछ।

तर, विश्वको जीडीपीको अंशका रुपमा चीनको जीडीपी सायद अहिले नै सबैभन्दा उच्च विन्दुमा छ। अन्य मुलुकले कस्तो प्रगति गर्छन्, भविष्य त्यसमा यो निर्भर रहनेछ।

भविष्यमा चीनले भारतको उदयको चिन्ता पनि गर्नुपर्ने हुन्छ। त्यस्तै, जापानको पुनः सशस्त्रीकरण भइरहेको छ। सम्भवतः पुरै दक्षिणपूर्वी एसिया चीनसँग सहकार्य गर्न इच्छुक नहुन सक्छ। अर्कोतिर, चिनियाँ कम्युनिस्ट पार्टीमा पनि दरार पैदा हुनसक्छ र सत्तामाथिको पकड केही फितलो हुनसक्छ। यदि चीनले ताइवानविरुद्ध महत्वपूर्ण कदम चाल्ने नै हो भने सबैभन्दा सजिलो समय अहिले नै हुनसक्छ।

सैन्य–प्रविधिको तीव्र विकासलाई हेर्ने हो भने पनि चीनले ताइवानविरुद्ध कदम चाल्ने ढिला गर्ने छैन। २० वर्षपछि जतिसुकै शक्तिशाली भए पनि ताइवानमाथि विजय हात पार्न चीनलाई निकै कठिन हुनेछ। अहिले भने खासगरी ताइवानको रक्षा शक्ति निकै कमजोर भएको देखिन्छ।

चीनले चाँडै कारबाहीको निर्णय लिन सक्ने अर्को कारण हो– घटनाक्रमहरुको गति। चीनले हालै हङकङको हैसियत परिवर्तन गरिदियो। सिन्जियाङमाथि पकड बलियो बनाउन ठोस कदम चाल्यो। यी दुवै घटनामा उसले अन्तर्राष्ट्रिय विरोध झेलेको थियो। तर, त्यस्तो विरोध सामान्य र थेग्न सकिने खालको थियो।

यस्तो आक्रामक बाटोमा एक पटक हिँड्न थालेपछि मुलुकहरुलाई रोकिन गाह्रो पर्छ। चिनियाँ सेना र कम्युनिस्ट पार्टीको संगठनात्मक पूर्वाधार दुवै यतिबेला हरेक समस्या समाधान गर्न र सबैलाई आफ्नो इच्छाअनुसार चलाउने दिशामा सक्रिय बनेका छन्। चीन विदेशी आलोचना खेप्न बानी परेको छ र चिनियाँ नेताहरुले आफ्नो शक्ति सुदृढ गरिरहेका छन्। मुलुकभित्र महामारी रोक्न चीन सफल भयो। जसका कारण कम्युनिस्ट पार्टी अहिले निकै लोकप्रिय बनेको छ। त्यस्तो लोकप्रियता हासिल गर्न भविष्यमा कठिन हुनसक्छ।

के कम्युनिस्ट पार्टीले अहिले यो प्रक्रिया रोकेर २० वर्षपछि पुनः सुरु गर्न सम्भव छ? सम्भव हुन सक्ला। तर, फेरि पनि चीन ताइवानविरुद्ध कारबाहीका लागि तम्तयार छ भन्ने दृष्टिकोण सत्य प्रतीत हुन्छ।

अन्त्यमा, चीनले जो बाइडेनलाई तुलनात्मक रुपमा अमेरिकाको कमजोर राष्ट्रपति मानेको हुनसक्छ। बाराक ओबामाको प्रशासन– जसको बाइडेन मुख्य हिस्सा थिए– ले दक्षिण चीन सागरमा चिनियाँ विस्तारलाई तुलनात्मक रुपमा बेवास्ता गरेको थियो। समग्रमा डेमोक्रेटिक पार्टी प्रायः रुसप्रति बढी चिन्तत देखिन्थ्यो।

सायद बाइडेनलाई नरम ठान्नु गलत हुनेछ। तर, गत महिना अमेरिकी र चिनियाँ अधिकारीहरुबीच साक्षात्कार हुनुअघि नै चिनियाँ वार्ताकारहरुले अमेरिकाबारे रुष्ट र असयोगी तरिकाले कुराकानी गरेका थिए।

आफ्नो नियति भोग्ने पालो अब अमेरिकाको हो भन्ने विश्वास चिनियाँहरुलाई छ। यसका साथै विश्व इतिहासलाई फराकिलो नजरले हेर्दा ताइवानविरुद्ध चीनले चाँडै नै ठूलो कदम चाले त्यो आश्चर्यको विषय हुने छैन।

(ब्लुमबर्गबाट। जर्ज मेसन युनिभर्सिटीका प्राध्यापक टाइलर कावन द कम्प्लेसेन्ट क्लासः द सेल्फ–डिफिटिङ क्वेस्ट फर दि अमेरिकन ड्रिम पुस्तकका लेखक हुन्।)

यो पनि :
के अमेरिकाले ताइवानको रक्षा गर्न सक्छ?

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .