रास्वपा महामन्त्री एवं सांसद विपिन आचार्यले संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला आएको बताएका छन्।
आज (बुधबार) शून्य समयमा बोल्दै उनले सरकारले जस्तै संसद्ले पनि समीक्षा गर्नुपर्ने बताएका हुन्।
‘सामान्यतया सरकारको सय दिन पुगेपछि ‘हनिमुन पिरियड’ सकिन्छ र त्यसको समीक्षा गर्ने अभ्यास छ। संसद्को हकमा चाहिँ ‘हनिमुन पिरियड’ भनेर सुनेजस्तो लाग्दैन। खैर जे होस्, संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला चाहिँ भयो कि जस्तो लाग्छ,’ आचार्यले भने, ‘संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ पनि हो, त्यसैले हामी सही दिशामा छौँ वा छैनौँ? यी सबै विषयको समीक्षा गर्न म सम्माननीय सभामुखज्यूसँग आग्रह गर्दछु।’
संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति, सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए? संसदीय समितिहरूले कति काम गरे? संसद्मा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भएलगायतका विषयमा समीक्षा हुनुपर्ने उनको भनाइ छ।
उनले शून्य समयमा राखेको धारणा
सामान्यतया सरकारको सय दिन पुगेपछि 'हनिमुन पिरियड' सकिन्छ र त्यसको समीक्षा गर्ने अभ्यास छ। संसद्को हकमा चाहिँ 'हनिमुन पिरियड' भनेर सुनेजस्तो लाग्दैन। खैर जे होस्, संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला चाहिँ भयो कि जस्तो लाग्छ।
संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो ? सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए ? संसदीय समितिहरूले कति काम गरे ? संसद्मा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भए ? सांसदहरूको प्रस्तुति कस्तो रह्यो ? प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन सत्तापक्ष, सरकार र प्रतिपक्षले कतिपटक गरे ? ती उल्लङ्घनलाई संसद्ले कसरी लियो ? संसद्को गरिमा बढ्दो क्रममा छ कि घट्दो ? एउटा सशक्त र समृद्ध संसद् यस्तै हुन्छ कि हाम्रो सामूहिक मिहिनेत पुगेन ?
संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ पनि हो, त्यसैले हामी सही दिशामा छौँ वा छैनौँ ? यी सबै विषयको समीक्षा गर्न म सम्माननीय सभामुखज्यूसँग आग्रह गर्दछु।
Shares

प्रतिक्रिया