राजनीति


तीन दलको बैठक बोलाउन देउवा यसरी भए सहमत

तीन दलको बैठक बोलाउन देउवा यसरी भए सहमत

नेपालखबर
चैत २६, २०७७ बिहिबार १७:१५,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका छन्। संसदमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को संयुक्त बैठकले राजनीतिको कोर्स परिवर्तन गर्न सक्ने केही नेताहरूले दाबी गरेका छन्।

संयुक्त छलफल गर्न तयार नरहेका देउवालाई त्यसमा राजी गराउने काम भने माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेको देउवा निकट एक नेताले दाबी गरे।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक देउवालाई भेटेर नयाँ सरकार गठनबारे निर्णय गर्न समय दिएपनि देउवाले भने आनाकानी गरिरहेका थिए।

उपाध्यक्ष श्रेष्ठले त्यसपछि देउवासँग निरन्तर छलफल गरेको देउवा निकट ती नेताले जनाए।

बिहीबार पनि बिहान ९ बजेदेखि झण्डै दुई घण्टा देउवा र श्रेष्ठबीच छलफल भएको थियो। देउवा भेट्न श्रेष्ठ उनकै निवास बुढानीलकण्ठ पुगेका थिए।

‘देउवा र श्रेष्ठबीच बिहीबार बिहान पनि छलफल भयो, समसामयिक राजनीतिक विषय, देशको पछिल्लो समस्या समाधान गर्ने विषयमा छलफल भएको हो’, देउवा निकट नेताले भने।

श्रेष्ठसँग देउवाले माओवादी केन्द्रसँग मिलेर जान नसक्ने बताएका थिए।

‘मिलेर जाने कुरामा सहमत भएपनि म प्रचण्डजीलाई विश्वास गर्न सक्तिनँ, उहाँले पटकपटक धोका दिनुभएको छ’, देउवाले श्रेष्ठसँग भने।

त्यसपछि श्रेष्ठले अब धोका नहुने ग्यारेन्टी आफुले गर्ने बताएका थिए।

‘माओवादी केन्द्रबाट कुनै समस्या आउन नदिने म प्रतिबद्धता जनाउन तयार छु’, देउवालाई श्रेष्ठको भनाइ उधृत गर्दै उनी निकट नेताले भने, ‘आवश्यक पर्‍यो भने कसरी सहमत गराउन पर्छ, भन्नुस्।’

त्यसपछि देउवाले श्रेष्ठको भनाइमा समर्थन जनाउँदै तत्काल बैठक बोलाउन आफु निकट नेताहरूलाई भनेका थिए।

श्रेष्ठको आग्रहपछि चुनावको तयारीमा रहेका देउवा त्यसमा पुनरविचार गर्न सकारात्मक बनेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad