विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण उच्च भई अत्यन्त घातक अवस्थामा पुगेको भन्दै गम्भीर चिन्ता जनाएको छ।
काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाउनुले थप चिन्ता बढाएको विवेकशील साझाले जनाएको छ।
नेपालको संविधानले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरेको बुधबार विज्ञप्ति प्रकाशित गरी विवेकशील साझा पार्टीले सरकारलाई स्मरण गराएको छ।
‘वर्षा र पश्चिमी वायुको गति हाम्रो अधीनमा नरहे पनि हालको प्रदूषणका प्रमुख कारक देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्नु अत्यन्त जरुरी छ’ सो दलले भनेको छ, ‘संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरी सामुदायिक समूहहरूको समेत साथ लिएर सेना र प्रहरीलाई आवश्यक उपकरणसहित डढेलो नियन्त्रणमा अविलम्ब खटाउन विवेकशील साझा पार्टी आग्रह गर्दछ।’
डढेलो नियन्त्रणका लागि अन्य मुलुकले उपयोग गरिआएको हेलिकप्टरबाट रसायन छर्किने सहितका प्रविधिको उपयोगबारे पनि तत्काल तयारी अघि बढाउन आह्वान गरिएको छ।
‘त्यसै गरी धुवाँ धुलो नियन्त्रणका लागि केही समय सवारी साधन संचालनमा जोरबिजोर प्रणाली लागू गर्ने, सम्भव भएसम्म घरबाट काम गर्न प्रेरित गर्ने, आवश्यक परे प्रदूषण गर्ने उद्योग कलकारखाना केही समय बन्द गर्ने लगायतका उपाय लगाउनु वाञ्छनीय हुनेछ’ विवेकशील साझाको सुझाव छ।
समस्या धेरै बढ्दा केही सरोकार देखाउने र अलिकति कम भएपछि पूर्णतः बेवास्ता गर्ने सरकारी प्रवृत्ति स्वीकार्य नहुने सो दलको भनाई छ।
Shares

प्रतिक्रिया