राजनीति


सरकार लकडाउन गर्ने मनस्थितिमा छैन : स्वास्थ्यमन्त्री

सरकार लकडाउन गर्ने मनस्थितिमा छैन : स्वास्थ्यमन्त्री

नेपालखबर
चैत २४, २०७७ मंगलबार ७:२४,

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताएका हुन्।

उनले लकडाउनभन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए।

लकडाउनले कोभिड नियन्त्रण गर्न सहज हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताए।

‘हामी नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् भन्ने चाहँदैनौँ। लकडाउनभन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ’, उनले भने, ‘किनभने लकडाउनले कोरोना संक्रमण रोक्न मद्दत गरे पनि जनजीविका, समाज, अर्थतन्त्र, सामाजिक जीवनलाई पार्ने प्रभावपछि र दीर्घकालिन रुपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाईं लडिरहेको छ हामी पनि एउटा यो लडाईंमा योद्दा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाउन तयार छ।’

छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए। यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे।

‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दोस्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं। तर एउटा कुरा म यहाँहरुलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन’, उनले भने, ‘आतंकित हुनु भनेको यो संक्रमणलाई झन थप्नु हो। सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन।’

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकशित भइरहेको र त्यसमध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको बताए। चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि शुरु हुने पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad