सोमबार भारतमा पहिलोपटक एक लाख संक्रमित थपिँदा आज मंगलबार यहाँ एक लाखकै हाराहारीमा कोरोना संक्रमित थपिएका हुन्।
कोरोना भाइरस विश्वमा देखिएको एकवर्ष पुरा भाइसक्दा पनि भारतमा भने कोरोनाको त्रास रोकिन सकेको छैन। भारतमा यतिबेला विश्वमै सबैभन्दा बढी संख्यामा कोरोना संक्रमित थपिरहेका हुन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा भारतमा ९६ हजार ९८२ संक्रमित थपिएका छन्। सोही अवधिमा यहाँ ४४६ को मृत्यु भएको छ।
यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २६ लाख ८६ हजारभन्दा बढी पुगेको छ। यहाँ कोरोनाका कारण १ लाख ६५ हजारको मृत्यु भइसकेको छ।
गत जनवरीदेखि नै भारतमा कोरोनाविरुद्धका खोप कार्यक्रम संचालन भएका छन्। हालसम्म यहाँ ८ करोड ३१ लाख १० हजारमा खोप लगाइएको छ।
तर खोप कार्यक्रम जारी रहँदा पनि पहिलेभन्दा बढी यहाँ दैनिक संक्रमित बढ्दै गएका हुन्।
यसैबीच कोरोनाको खतरालाई मध्यनजर गर्दै भारतको राजधानी नयाँ दिल्लीमा रातिको समयमा कर्फ्यू लगाइएको छ।
मंगलबार देखि अप्रिल ३० तारिखसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म यो नियम लागू भएको बीबीसीहिन्दीले जनाएको छ।

प्रतिक्रिया