राजनीति


अब माओवादीको नेतृत्वमा कम्युनिस्ट एकता अगाडि बढ्छ : वर्षमान पुन

अब माओवादीको नेतृत्वमा कम्युनिस्ट एकता अगाडि बढ्छ : वर्षमान पुन

नेपालखबर
चैत २१, २०७७ शनिबार १२:५६,

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेपालका सबै कम्युनिस्ट पार्टीबीच एकता हुने बताएका छन्।

शनिबार ओखलढुंगामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धारा र प्रवृत्तिका कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरिने बताएका हुन्।

आफूहरुले समाजवाद कार्यान्वयन गर्ने सही नियतका साथ एमालेसँग एकता गरेको भए पनि केपी ओलीले स्वार्थको रणनीतिका रुपमा प्रयोग गरेकाले एकता दिगो नभएको पुनको भनाइ थियो।

‘केपी ओलीले समाजवादका लागि, कम्युनिस्ट आन्दोलन बलियो बनाउनका लागि नभई प्रधानमन्त्री पदमा पुग्ने स्वार्थले एकता गर्नुभएको रहेछ भन्ने घटानक्रमहरुले पुष्टि गरेको छ’, पुनले भने, ‘ढिलो चाँडो फेरि कम्युनिस्ट पार्टीहरु एकतामा जानुपर्छ। कम्युनिस्ट एकता आजको आवश्यकता हो।’

नेता पुनले अब एकता गर्दा विचार र प्रवृत्तिगत रुपमा माओवादी पार्टी र आन्दोलन हाबी हुने गरी गरिने स्पस्ट गरे। उनले माओवादीले सबै धारका कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध गर्न एकताको झण्डा उठाउने जानकारी दिए।

‘एकता हिजो पनि जरुरी थियो, आज पनि जरुरी र आवश्यक छ, फेरि पनि एकताको बाटोबाट अगाडि जानुपर्छ’, उनले भने, ‘माओवादी केन्द्रले फेरि ध्रुवीकरणको प्रयास गर्छ, एकताले प्रयास गर्छ। हामी एकताको झण्डा उठाउँछौं।’ यद्यपि तत्कालै एकताको सम्भावना भने नरहेको उनको भनाइ थियो।

नेता पुनले माओवादीले एमालेसँग गठबन्धन गरेपछि गरेका गल्तीका लागि पूर्णकालिन कार्यकर्ता, जनमुक्ति सेना, सहिद तथा बेपत्ता परिवारसँग माफी माग्दै फेरि एकताबद्ध बनाउने र एकै ठाउँमा उभिने वातावरण बनाउने बताए।

‘अब हामी हाम्रा मान्छे खोज्छौं, ०६४ मा ३४ लाख भोट थियो। अहिले १६ लाखमा झरेको छ। हामी बीचमा गल्ती भयो, असल नियतले गठबन्धन गरियो। आफ्नो शक्ति, विचार सुदृढ गरेर आफ्ना मान्छेलाई गोलबन्द गरेपछि मात्र हुने रहेछ भनेर हामी गाउँगाउँ जान्छौं। पूर्णकालिन कार्यकर्ता, जनमुक्ति सेना, घाइते, अपांग, सहिद बेपत्ता परिवार खोज्छौं’, पुनले भने।

भोटको राजनीतिमा पार्टी कहिले सानो र कहिले ठूलो हुने भन्दै पुनले मुलुक अहिले पनि माओवादी एजेन्डामै अघि बढेकाले आफूहरु कमजोर नभएको दाबी गरे। विगत १५/२० वर्षदेखि मुलुकको राजनीति माओवादी आन्दोलन वरिपरि घुमेको र अहिले पनि माओवादीका एजेन्डा मुलुकको एजेन्डाका रुपमा स्थापित भएको चर्चा गरे।

माओवादी भोटकै राजनीतिमा पनि कमजोर नरहेको उनको दाबी छ। पछिल्लो स्थानीय तहको निर्वाचन परिणामका आधारमा देशभर माओवादीका १६ लाख मतदाता रहेको भन्दै पुनले आगामी निर्वाचनसम्म उक्त संख्या दोब्बर बनाइने घोषणा गरे।

०६४ सालमा माओवादी ठूलो दलका रुपमा स्थापित हुँदा ३४ लाख मतदाता रहेको तथ्यांक प्रस्तुत गर्दै उनले देशभर कार्यकर्तामा देखिएको उत्साहले सोही अनुपातमा मत ल्याउन कठिन नभएको बताए।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय माओवादीका एजेन्डा हुन’, पुनले भने, ‘आज यी सिंगो देशको र सबै पार्टीको साझा राष्ट्रिय एजेन्डा बनेका छन्, अहिलेको संविधानका कयौं प्रावधानमै माओवादी एजेन्डा छन्।’

पुनले अब एकता गर्दा ओलीको नभई माओवादी नेतृत्व हुने बताए। ‘एकताको झण्डा उठाउनुको अर्थ हामीले सबैलाई विचार र प्रवृत्तिले नेतृत्व गर्ने भन्ने हो। अब ओलीले होइन, हामीले एकताको पहल गर्ने हो’, उनले बताए। एकताअघि आफूहरुले सु–संगठित र व्यवस्थित पार्टीका रुपमा माओवादी केन्द्र सञ्चालन गर्ने र आफ्नो खुट्टामा आफैं उभिने पुनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad