राजनीति


सुदूरपश्चिमका ६ जिल्लामा खोसियो नेपाल-खनाल निकट अध्यक्षको जिम्मेवारी

सुदूरपश्चिमका ६ जिल्लामा खोसियो नेपाल-खनाल निकट अध्यक्षको जिम्मेवारी

गोकुल जोशी
चैत २०, २०७७ शुक्रबार १४:८,

नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सुदूरपश्चिममा नेपाल-खनाल निकट ६ वटा जिल्ला कमिटिका अध्यक्षको जिम्मेवारी खोसेको छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटिले प्रदेशका ९ वटै जिल्ला कमिटि अध्यक्ष र सचिवको जिम्मेवारी ओली निकटलाई दिएको हो। यसअघि नौ मध्ये ६ जिल्लामा नेपाल–खनाल समूहका नेता जिल्ला कमिटि अध्यक्ष थिए।

एमाले प्रदेश कमिटिले जिल्ला अध्यक्षलाई ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्दै ९ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम उल्लेख गरेर जिम्मेवारी दिएको पत्र काटेको छ।

जसमा एमाले र माओवादी केन्द्र एकीकरण अघिको कमिटिकाे जिम्मेवारीमा रहेका भन्दा केही नयाँ अनुहारका नेता पनि छन्।

कञ्चनपुर जिल्ला कमिटि अध्यक्ष तारालामा तामाङलाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा वीरबहादुर थापा (पाताल) लाई राखिएको छ।

तामाङ माधव कुमार नेपाल निकट हुन् भने थापा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए। माओवादी केन्द्र र एमालेको एकीकरण पछि बनेको तत्कालीन नेकपाको कञ्चनपुर अध्यक्ष बनेका थापा प्रतिनिधि सभा विघटनपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँगै ओलीको पक्षमा उभिएका थिए। यसअघि थापा माओवादी केन्द्रको कञ्चनपुर संयोजक थिए।

यस्तै नेपाल–खनाल निकट कैलालीका अध्यक्ष दीर्घ सोडारीलाई हटाएर रतन थापा, डडेल्धुरामा डा. तारा जोशीलाई हटाएर प्रकाश साउँद, डोटीमा चक्र मल्ललाई हटाएर रामबहादुर ऐर, अछाममा शेरबहादुर कुँवरलाई हटाएर चन्द्र बोहरा र बझाङमा दीलबहादुर सिंहलाई हटाएर अफिलाल ओखेडालाई अध्यक्षको जिम्मेवारी दिइएको छ।

ओली निकट बैतडीका अध्यक्ष सुरेन्द्र पाल, दार्चुलाका अध्यक्ष रामदत्त जोशी र बाजुराका अध्यक्ष लालबहादुर शाहीलाई भने अध्यक्षमा निरन्तरता दिइएको छ। अधिकांश सचिव पनि ओली निकट रहेको नेताहरु बताउँछन्।

प्रदेश कमिटिमा पनि उस्तै
एमालेको प्रदेश कमिटि पनि ओली निकट नेताको बाहुल्यता देखिन्छ। एमाले सुदूरपश्चिमका तत्कालीन इन्चार्ज भीम रावललाई हटाएर ओलीले पूर्व–माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई इन्चार्ज बनाएका थिए।

यस्तै सह–इन्चार्जको जिम्मेवारी दार्चुलाबाट विजयी प्रतिनिधि सभा सांसद तथा बहालवाला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र कैलालीबाट निर्वाचित नारदमुनी रानालाई दिइएको छ। प्रदेश सचिवको जिम्मेवारी ओली निकट कञ्चनपुरका नेता राजेन्द्र रावलले पाएका छन्।

केन्द्रदेखि प्रदेश हुँदै जिल्ला कमिटिसम्म कारबाही अभियान
१६ चैत्रमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेका थिए।

नेपाल र रावललाई पार्टी हितविपरित गतिविधि गरेको कारण देखाएर सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआएको भन्दै पार्टीका सबै जिम्मेवारीसहित पार्टी सदस्यताबाटै ६ महिनाका लागि निलम्बन गरिएको थियो।

नेपाल र रावललाई निलम्बन गरेको एक साता नबित्दै सोही कारण देखाउँदै उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि ओलीले पार्टीबाट निलम्बन गरेका थिए।

पार्टीको केन्द्रीय स्तरबाट सुरु गरेको आफूविरोधी सफाया गर्ने ओलीको अभियान प्रदेश हुँदै जिल्ला कमिटिसम्म पुगेको नेताहरुको दाबी छ। अध्यक्ष ओलीले आफूविरुद्ध लाग्नेहरुलाई चेपुवामा पार्नेे रणनीति लिएको उनीहरु बताउँछन्।

‘एकलौटी निर्णय मान्दैनौँ’
यता, प्रदेश कमिटीले एकलौटी रुपमा गरेको कमिटि विस्तारलाई आफूहरुले नमान्ने सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा कैलालीका अध्यक्ष दीर्घ सोडारी बताउँछन्।

‘हामीलाई जिम्मेवारी हेरफेरको बारे कुनै जानकारी छैन’ उनले नेपालखबरसँग भने, ‘निर्वाचित अध्यक्षलाई कसैले हटाउन सक्दैन। अहिले बाहिर आएका कुरा हास्यास्पद छन्।’

यस्तै, सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ पार्टीमा छलफल, समन्वय नगरी एकपक्षीय रुपमा चालेको कदमले पार्टीलाई क्षति गर्ने बताउँछन्।

‘अदालतले एमाले ब्युँताएकोले पुरानै कमिटि रहन्छ। पार्टी अफ्ठ्यारो स्थितीमा रहेको बेला छलफल नै नगरी कसैको मानमर्दन गर्ने गरी एक पक्षीय हिसाबले संगठन विस्तार गरिएको छ’ उनले नेपालखबरसँग भने, ‘यस बारेमा हामीसँग कुनै छलफल नै भएको छैन। यसले पार्टीलाई राम्रो गर्दैन।’

के भन्छन् एमाले प्रदेश अध्यक्ष?
एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा भने विगतकै जिम्मेवारीलाई निरन्तरता दिएको बताउँछन्। जिल्ला अध्यक्षहरुलाई कारबाही नगरिएको स्पष्ट पार्दै उनले प्रदेश कमिटि विस्तार गर्न बाँकी रहेकाले एमालेमै रहने सम्पूर्णलाई समेटेर जाने दाबी गरे।

‘तत्कालीन नेकपा हुँदा मूल नेतृत्वमा रहेका, र अहिले पनि एमालेमै रहन चाहने तथा एमालेको मूल धारमा रहेकालाई नै जिम्मेवारी दिइएको हो’ उनले नेपालखबरसँग भने, ‘कसैलाई कारबाही गरिएको छैन। एमालेमै रहने सम्पूर्ण साथीहरुलाई मिलाएर जान्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .