परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिपक्षी लगायतका संसद पुनर्स्थापनाको पक्षमा लागेका दलहरुको अलमलका कारण संसद बैठक प्रभावकारी नभएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री ज्ञवालीले सरकारको कारण संसद प्रभावकारी नभएको नभई प्रतिपक्षी दल लगायत संसद पुनर्स्थापनाको पक्षमा लागेका दलहरुको अलमलका कारण संसद बैठक प्रभावकारी नभएको बताएका हुन्।
सरकार संसदलाई विजनेश दिन तयार रहेको उनको भनाई छ।
संसदलाई सही ढंगले अगाडि लैजानको निम्ति सभामुखको नेतृत्वदायी भूमिका हुनुपर्ने मन्त्री ज्ञवालीले बताए।
उनले भने, ‘विधेयकहरु पहिलो बैठकमा प्रस्तुत गर्न नपाएपछि संविधान अनुसार पनि फेरि प्रस्तुत गर्न केही कठिनाइहरु परे। सरकार विजनेश दिन तयार छ। सरकारका कारणले संसद प्रभावकारी नभएको, संसद बैठक प्रभावकारी नभएको होइन। प्रतिपक्षी दल लगायत संसद पुनर्स्थापनाको पक्षमा लाग्नुभएकाहरु आफैँ अल्मल्लिनुभएको छ संसद प्रभावकारी नहुनका लागि। सदनलाई सहि ढंगले अगाडि लैजाने कुरामा नेतृत्वदायी भूमिका हुनपर्यो सभामुखको। सबै राजनीतिक दलहरुसँग समझदारी हुनुपर्यो। सरकारसँग समन्वय गर्नुपर्यो। भोलि सरकारले प्रस्तुत गरेका अध्यादेशहरु अरु विजनेशहरु अवरोध हुँदैन भन्ने ग्यारेन्टी के?’

प्रतिक्रिया