म्यान्मारमा जारी सैन्य दमन र नरसंहारविरुद्ध नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले नेपालस्थित म्यान्मारको दूतावासमा घेराउ गर्नुका साथै ज्ञापनपत्र समेत बुझाएको छ।
बुधवार भैंसेपाटीस्थित दूतावास कार्यालयमा अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले विरोध पत्र बुझाएको हो।

विरोध पत्र बुझाउनु अघि दूतावास कार्यालय अगाडि एक घण्टा नारावाजीसहित धर्ना दिइएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। विरोध पत्र बुझ्दै दूतावासका प्रतिनिधिले उक्त पत्र तुरुन्तै म्यान्मार सरकार समक्ष पुर्याउने बताएको बस्नेतले जानकारी दिए।

क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङद्वारा हस्ताक्षरित विरोध पत्रमा भनिएको छ– ‘आजको एकाइशौं शताब्दीमा पनि सैन्य बुटको बलमा मच्चाइएको यस खालको अत्यन्तै पाशविक, बर्बर र हिंस्रक दमनको हामी घोर निन्दा र भर्त्सना गर्दछौ।’
लोकतन्त्र, मानव अधिकार र शान्तिका विश्वब्यापी मूल्यहरुको खिलापमा म्यानमारमा भइरहेको अमानवीय र क्रुर दमन अविलम्ब रोक्न ध्यानाकर्षण गरिएको उपाध्यक्ष बस्नेतले बताए।

Shares

प्रतिक्रिया