राजनीति


बढ्यो प्रचण्डको सक्रियता, देउवापछि भट्टराईसँग भेट, बन्ला त नयाँ समीकरण?

बढ्यो प्रचण्डको सक्रियता, देउवापछि भट्टराईसँग भेट, बन्ला त नयाँ समीकरण?

नेपालखबर
चैत १७, २०७७ मंगलबार ११:४८,

संसद बैठकअघि नयाँ सत्ता समीकरण निर्माणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका छन्।

मंगलबार अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका हुन्।

मंगलबार नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पनरवलोकनका लागि अदालत पुगेर रिट निवेदनपछि कोटेश्वरमा आयोजित एक कार्यक्रममा सहभागी भएर प्रचण्ड दिउँसो सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए।

उनीहरुबीच झण्डै आधा घण्टाजति समसामयिक राजनीति र नयाँ सत्ता समीकरणका विषयमा छलफल भएको देउवाका सहयोगी भानु देउवाले बताए।

‘त्यस्तो ठ्याक्कै निर्णय त केही भएन’, देउवाले नेपालखबरसँग भने, ‘उहाँहरुबीच समसामयिक राजनीतिक विषय र नयाँ सत्ता समीकरणका विषयमा छलफल भयो।’

मंगलबारै साँझ अध्यक्ष प्रचण्डले पूर्व सहकर्मीसमेत रहेका डा. भट्टराईसँग टोखास्थित उनकै निवासमा पुगेर छलफल गरेका हुन्।

‘अध्यक्ष प्रचण्ड र डा भट्टराईबीच अहिले समसायमयिक राजनीतिक विषय र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी हटाउने भन्ने विषयमा छलफल भइरहेको छ’, स्रोतले नेपालखरसँग भन्यो।

माओवादीले प्रधानमन्त्री केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला प्रचण्ड र भट्टराईबीच भेटवार्ता हुनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको हो।

डा. भट्टराई पनि तत्काल अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई बिदा गर्नुपर्ने पक्षमा छन्। तर, उनको पार्टी जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीले आफूहरुले सारेका ५ माग पूरा गरे उनीसँगै मिलेर जानुपर्ने पक्षमा छन्।

आजै जसपाका अध्यक्ष महन्थ ठाकुरले रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना माग पूरा गर्न थालेको प्रतिक्रिया दिएका थिए। कार्यक्रमलगत्तै मञ्चमा प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच छोटो भेटघाट समेत भएको थियो।

बुधबार संसद बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले सक्रियता बढाएका हुन्। माओवादी केन्द्रले भोलिको संसद बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ। यसको जानकारी प्रचण्डले आफूनिकट नेताहरुलाई दिएको स्रोतले बतायो।

वैकल्पिक सरकार बनाउन संसदमा निर्णायक अवस्थामा रहेको जसपाकै अनिर्णयको कारण माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने प्रयत्न भए पनि माओवादी केन्द्रले समर्थन कायम राखेको र जसपाभित्र विवाद देखिएको भन्दै सो प्रक्रियासमेत रोकिएपछि प्रचण्डले सक्रियता बढाएका छन्।

यसअघि प्रचण्ड र भट्टराईबीच पनि निवासमै र उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेट भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad