राजनीति


सरकारतिर ढल्किँदै जसपा, महन्थले भने– ओली हाम्रा सबै माग पूरा गर्न अघि बढे

सरकारतिर ढल्किँदै जसपा, महन्थले भने– ओली हाम्रा सबै माग पूरा गर्न अघि बढे

नेपालखबर
चैत १७, २०७७ मंगलबार १०:३०,

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्नो पार्टीले अघि सारेका माग पूरा गर्ने तत्परता देखाएको बताएका छन्।

मंगलबार रिपोटर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले जसपाले अघि सारेका सबै माग पूरा गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अघि बढेको बताएका हुन्।

उनले प्रधानमन्त्री ओलीले जसपाको माग सम्बोधनको लागि आश्वासन दिएपछि छलफल निरन्तर भएको र निष्कर्षतिर पुग्न लागेको बताए।

‘हामीले कांग्रेस, माओवादी केन्द्र, प्रधानमन्त्री ओलीलगायत सबै नेतासँग भेट गरेका छौँ’, ठाकुरले भने, ‘अहिले गर्छु भनेर कसैले भनेको थिएन। प्रधानमन्त्रीजीले अगाडि नै बढाउनुभएपछि छलफल सकारात्मक भएको छ।’

ठाकुरले कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको भन्दै सहयोग मागेको खुलासा गरे।

उनले भने, ‘शेरबहादुरजीले हामीसँगको भेटमा अविश्वास प्रस्ताव ल्याउन सहयोग गर्नुस् भन्नुभयो। तर, सरकार बनेपछि हाम्रो मागको विषयमा के गर्ने भन्ने प्रष्ट जानकारी आएन। बरु माओवादीका अध्यक्ष प्रचण्डजीले संविधान संशोधन, नागरिकताका विषय सम्बोधन गर्छु भनेर भन्नुभएको थियो।’

सो क्रममा आफ्नो पार्टीले काम गर्ने विश्वास देखाइदिन भनेको उनले बताए।

अध्यक्ष ठाकुरले नेपालको राजनीति अस्थिर बनेको भन्दै संसद् बैठक चले पनि बिजनेस नपाएको बताए।

‘नेपालको राजनीतिमा स्थिरता छैन। संसद छ तर विधेयक पेश भएका छैनन्। पास हुन्छ कि हुँदैन थाहा छैन। अहिले पनि गोली चलिरहेको छ। संसदमा काम भइरहेको छैन’, ठाकुरले भने।

सबैसँग छलफल भए पनि आफ्नो पार्टीले कसलाई साथ दिने भन्ने अझै निर्णय नगरेको उनले दाबी गरे।

‘यस्तो अवस्थामा हामी कता जाने हो, हामीले सबैसँग काम गरिसकेका छौँ। सुशील कोइराला, शेरबहादुर र प्रचण्डजीसँग पनि हाम्रो माग अघि सारेकै हो। पार्टीहरुबीच अविश्वासको वातावरण छ। प्रदेश सरकारहरुले काम गर्न सकेका छैनन्’, ठाकुरले भने।

उनले प्रधानमन्त्रीविरुद्ध जान कांग्रेसबाट पटक–पटक प्रस्ताव आएको पनि बताए।

‘प्रधानमन्त्रीको विरुद्धमा जान कांग्रेसका नेताहरुले एलायन्सका कुरा गर्नुभयो, तर हामी प्रधानमन्त्री भएकाले माग पूरा गर्न प्रधानमन्त्री ओली देखिरहेका छौँ’, उनले भने।

संघीयता भए पनि केन्द्र सरकारले काम गरेको भन्दै उनले प्रदेशले प्रहरी समेत भर्ना गर्न नसक्ने अवस्था बनेकोमा असन्तुष्टि जनाए।

‘संघीयता आएर प्रदेश बने पनि सबै काम केन्द्रबाट भएको छ। एउटा पुलिस भर्ना गर्न सक्तैन। सबैतिर अस्तव्यस्त छ’, ठाकुरले असन्तुष्टि पोख्दै भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad