स्पष्टीकरण प्रकरणयता मौन बसेकी नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टीभित्रको विवादबारे मुख खोलेकी छन्।
माधवकुमार नेपाल पक्षकी नेत्री झाँक्रीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत कसैको नाम नलिईकन दम्भ, अहंकार, घमण्ड, घृणा र तिरस्कार बढ्दै गएको टिप्पणी गरेकी हुन्।
यसअघि आजै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नेपाल पक्षका नेताहरूको आलोचना गरेका थिए।
झाँक्रीले लेखेकी छन्, ‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैंस चढ्दो छ। त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो। भित्र र बाहिर दलाल पुँजीवादको विरुद्धमा लडिरहनुपर्ने हुन्छ।’
उनले अगाडि लेखेकी छन्, ‘लाखौं सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको विरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगीन दायित्त्व हो।’
सुरुमा वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँगै स्पष्टीकरण माग्ने सूचीमा राखिएकी नेत्री झाँक्रीको नाम कारबाहीका लागि ‘वेट नपुगेको’ भनेर अध्यक्ष ओलीले पछि झिकेको चर्चा चलेको थियो। त्यसयता उनले कुनै प्रतिक्रिया जनाएकी थिइनन्।

एमाले विवाद : योगेश भट्टराईलाई ‘धन्यवाद’ भन्दै सूर्य थापाले गरे २ प्रश्न
Shares

प्रतिक्रिया