प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता महेश बस्नेतले हत्याकाण्डमा दोषी भई निलम्बित रहेका सांसद रेशम चौधरीलाई जेलमै पुगी भेट गरेका छन्।
कैलालीबाट निर्वाचित जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई शुक्रबार बिहान डिल्लीबजार कारागार पुगी भेट गरेका हुन्।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जसपालाई सहभागी गराएर संसदमा बहुमत पुर्याई विश्वासको मत लिने प्रयास भइरहेका बेला बस्नेतले चौधरीलाई भेट गरेका हुन्।
यो पनि : मधेशको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक : महन्थ ठाकुर
ओली र जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुबीच निरन्तर वार्ता जारी छ।
जसपाले सरकारमा सहभागिताका लागि चौधरी लगायतका सो पार्टीका नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता र रिहाइको शर्त राख्दै आएको छ।
२०७२ सालमा कैलालीमा एक एसपीसहित सात प्रहरी र एक बालकको हत्या भएको काण्डका चौधरी दोषी हुन्। जिल्ला अदालत र उच्च अदालतले चौधरीलाई मुख्य योजनाकारका रुपमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।
जसपाभित्र अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारमा जान नहुने बताइरहेका बेला ठाकुर पक्ष भने बालुवाटारसँग निरन्तर वार्तामा रहेको छ।
गृहमन्त्री रामबहादुर थापाले बिहीबार आन्दोलनरत् थारु समुदायहरुका प्रतिनिधिहरुकै बीचमा पुगी चौधरी लगायतलाई रिहा गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको बताएका थिए।
यसैबीच ओलीनिकट नेता तथा पूर्वमन्त्री बस्नेत जेलमै पुगी चौधरीलाई भेट गरेका हुन्।
‘जसपालाई सरकारमा सहभागी बनाउने पहलस्वरुप यो भेट भएको हो,’ बस्नेतनिकट स्रोतले भन्यो।
यो पनि :
नजिकिँदै बालुवाटार–जसपा, कुरा मिल्ने सम्भावना बढ्दो

प्रतिक्रिया