राजनीति


विभाजनतर्फ एमाले : कुन कुन भ्रातृ संगठनमा बने समानान्तर कमिटी?

विभाजनतर्फ एमाले : कुन कुन भ्रातृ संगठनमा बने समानान्तर कमिटी?

मणि दाहाल
चैत १३, २०७७ शुक्रबार १:८,

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किदै जाँदा धमाधम भ्रातृ संगठनका समानान्तर कमिटी गठन गरिएका छन्।

युवा, महिला र विद्यार्थी संगठनका अलग–अलग नेतृत्व चयन गर्दै आआफ्ना गतिविधिसमेत थालिसकिएका छन्।

दुवै पक्षले आफूअनुकूल पार्टीका जनवर्गीय तथा पेसागत संगठनका नेतृत्व चयन, विस्तार र गतिविधि सुरु गरेका हुन्। यस्ता थप संगठनका भेला गरी आआफ्नै कमिटी बनाउने तयारीमा दुवै पक्ष छन्।

नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनुअघिसम्म एमालेका भ्रातृ संगठन युवा संघ नेपाल, अखिल नेपाल महिला संघ र अनेरास्ववियु प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीनिकटको नेतृत्वमा थिए।

तर सर्वाेच्च अदालतले नेकपा एकता भंग गर्दै यही फागुन २३ गते पुरानै दुई पार्टी पुनर्स्थापनाको फैसला गरेयता एमालेभित्र ओली र नेपाल पक्षबीच चर्काे द्वन्द्व सुरु भएको हो।

खासगरी अध्यक्ष ओलीले फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यको मात्र बैठक राखेर नेपाल–खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएपछि विवाद उत्कर्षमा पुगेको हो।

त्यसयता विरोधमा अलग्गैै भेला/बैठक गरिरहेको नेपाल पक्षले आफूअनुकूल नेताका जिम्मेवारी तोक्दै भ्रातृ संगठनका छुट्टै कमिटी गठन तथा गतिविधि सञ्चाल गरिरहेको हो। जसले एमाले विभाजनतर्फ उन्मुख हुँदै गएको प्रस्ट्याउँछन्।

‘जनवर्गीय तथा पेसागत संगठनमध्ये राष्ट्रिय भेला केहीका भए केहीका हुने क्रममा छ। त्यसले नयाँ नेतृत्व छनोट गरेर पुनर्गठन गर्छ,’ वरिष्ठ नेता नेपालनिकट एकजना स्थायी कमिटीका सदस्यले भने, ‘प्रदेश तथा जिल्लामा भने २०७५ जेठ २ को संगठन सक्रिय बनाएर केही थपघट गर्नेछौं।’

माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्नुभन्दा अघिल्लो दिन अर्थात् २०७५ जेठ २ गतेसम्म युवा संघको अध्यक्ष रमेश पौडेल थिए भने महासचिव नरेश शाही।

एमालेको युवा संघ र माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) एकीकृत भएर राष्ट्रिय युवा संघ नेपाल बन्यो। जसमा संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेल बने।

२०७५ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गर्नासाथ तत्कालीन नेकपा दुई पक्षमा विभाजन भयो– ओली समूह र प्रचण्ड–नेपाल पक्ष। त्यसपछि ओली पक्षले रमेश पौडेलको अध्यक्षतामा राष्ट्रिय कार्यकर्ता भेला गरायो। जसले वचनबहादुर सिंहको अध्यक्षतामा युवा संघको नयाँ नेतृत्व चयन गर्‍याे। ९ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा महासचिव रमेश आचार्य छन्।

‘तीनवटा अभियान लिएर गाउँ तहसम्म पुग्ने कार्यक्रम छ। संगठन विस्तार र परिचालन, समृद्धिसँग युवा र सचेतना अभियान सञ्चालन गर्दै छौं,’ आचार्यले भने, ‘पार्टीविरोधी गतिविधिमा संलग्न भएको भनेर पहिले कारबाही गरिसकिएका साथीहरूले कमिटी बनाएको भनेर समाचार आएका छन्। त्यसलाई हामीले वास्ता गरेका छैनौ।’

उता वरिष्ठ नेता नेपाल पक्षले राष्ट्रिय भेला गरी नरेश शाहीको नेतृत्वमा युवा संघ पुनर्गठन गरेको जनाएको छ। जसमा महासचिव दीपक जीएम छन्। योसँगै युवा संघका केन्द्रीय दुईवटा बनेका छन्।

लगत्तै अखिल नेपाल महिला संघ (अनेमसंघ) को पनि राष्ट्रिय भेला गरी नेपाल पक्षले यसको अलग्गै केन्द्रीय कमिटी गठन गरेको छ। जसमा जयन्ती राई अध्यक्ष र शान्ति अधिकारी महासचिव चयन भएका छन्। साविक अनेमसंघमा अध्यक्ष गोमा देवकोटा छिन्। अहिले अध्यक्ष बनेकी राई त्यसमा उपाध्यक्ष थिइन्।

त्यसैगरी चैत ९ र १० गते माधवकुमार नेपाल पक्षका विद्यार्थीको राष्ट्रिय भेला भयो। जसले सुदेश पराजुलीको अध्यक्षतामा ५ सय १ सदस्यीय कमिटी बनाएको छ। यसको महासचिवमा आरती लामा चयन भएकी छन्।

‘संगठनलाई प्रदेश र जिल्लाहरूमा पनि पुनर्गठन गर्ने र प्रशिक्षण सञ्चालन गर्ने तयारी भइरहेको छ,’ महासचिव लामाले भनिन्, ‘साथै यसबीच जेठमा अनेरास्ववियुको निर्वाचनका गर्ने तयारी पनि हुनेछ।’

साविक अनेरास्ववियु ऐन महर नेतृत्वमा छ। नेकपा हुँदा नै अनेरास्ववियुको संयोजक रहेका महरको नेतृत्वमा कमिटी विस्तार गरी १ हजार ९९ सदस्यीय बनाइएको थियो।

एमालेमा २२ वटा जनवर्गीय संगठन छन्। पार्टीमा देखिएको विभाजनको असर ती सबै संगठनमा परेको छ।

नेपाल समूहले अखिल नेपाल किसान महासंघ पनि पुनर्गठन गर्ने तयारी गरेको छ। यसको नेतृत्व आफ्ना पक्षमा रहेकाले उसले यस्तो निर्णय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .