नेकपा एमालेमा माधवकुमार नेपाल समूहका दोस्रो तथा तेस्रो तहका नेताले जारी अन्तर-संघर्षलाई मैदानमै प्रवेश गरेर अघि बढाउनुपर्नेमा जोड दिन थालेका छन्। नयाँ दल गठन नगर्ने हो भने सर्त राखेर बहिष्कार गर्नेभन्दा (अध्यक्ष ओलीले राख्ने) बैठकमै सहभागी भएर फरक मत राख्नुपर्ने धारणा राख्न थालेका हुन्।
‘अन्तर-संघर्ष पनि रिङभित्र प्रवेश गरेर गर्नुपर्छ भन्ने हो। मैदान छाड्ने होइन। आफ्नो विषय बैठकमा राख्नुपर्छ। निर्णयमा चित्त नबुझे नोट अफ डिसेन्ट लेखेर अघि बढ्नुपर्छ,’ एक केन्द्रीय सदस्यले भने, ’अहिले सर्त राखेर मैदान खाली छाड्ने होइन। अहिलेको नीति भनेको ओलीसँग आत्मसमपर्ण पनि नगर्ने र एमाले पनि नछाड्ने भन्ने हो।’
नेपाल समूहभित्र नयाँ दल बनाउने, ओलीको साथमा गएर आत्मसमर्पण नगर्ने र एमाले पनि नछाड्ने ३ समूह छन्। ‘अहिलेको हाम्रोतिरको मेन स्ट्रिम भनेको रिङभित्र प्रवेश गरेर लड्ने भन्ने नै हो,’ एकजना स्थायी कमिटीका सदस्यले भने।
सर्वोच्च अदालतको गत फागुन २३ गते नेकपा खारेज गर्दै यसमा एकीकृत एमाले र माओवादी नै कायम गर्ने फैसला गरेयता एमालेमा प्रधानमन्त्री ओली हावी भएका छन्। उनले फागुन २८ गत आफूनिकट केन्द्रीय सदस्यको मात्रै बैठक राखेर माधव नेपाल पक्षको जिम्मेवारी खोस्ने निर्णय मात्र गरेनन्, गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रबाट आएका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यसमेत बनाएका छन्।
यो निर्णय नवौं महाधिवेशनबाट पारित विधानविपरीत भएको भन्दै नेपाल पक्षले विरोधमा छुट्टै भेला/बैठक गरिरहेको मात्र छैन, समानान्तर कमिटीसमेत बनाउन सुरु गरिसकेको छ। विभिन्न सर्त राख्दै उसले अध्यक्ष ओलीले राखेका पार्टी कमिटी तथा संसदीय दलको बैठक बहिष्कार गरिरहेको छ।
‘कमजोर भएको अवस्थामा सर्त राखेर बाहिर बस्दा फाइदा छैन,’ नेपाल पक्षका नेताहरूको बुझाइ छ।
आदालतको फैसलाअनुसार २०७५ जेठ २ गते अर्थात् माओवादी केन्द्रसँग एकीकरणअघिकै पार्टी संगठन कायम हुनुपर्ने अडान नेपाल पक्षको छ। तर यसमा ओली पक्ष सहमत छैन।
यसैकारण नेपाल पक्षले यही चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्यो। देशभरबाट ४ हजार कार्यकर्ता सहभागी भए। ओली पक्षले विज्ञप्ति जारी गरी कारबाहीको चेतावनी दिँदादिँदै भेला गरिएको थियो।
योसहित विभिन्न आरोप लगाउँदै ओली पक्षले एमाले केन्द्रीय कमिटीका तर्फबाट पत्र पठाउँदै माधवकुमार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ।
‘पहिले स्पष्टीकरण नदिने मनस्थिति बनाएका नेताहरूले अहिले दिने, तर त्यस क्रममा अध्यक्ष ओलीलाई पनि प्रश्न सोध्ने तयारी छ,’ एकजना स्थायी कमिटीका सदस्यले नेपालखबरसँग भने।
नेपाल पक्षमा रहेका स्थायी कमिटीका सदस्यहरूले सोमबार बैठक राखी स्पष्टीकरण दिने निर्णय गरेका हुन्।
उता ओली पक्षले शनिबार बैठक राखेर एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरेको छ। नेपाल पक्षले भने यसबारे आफूलाई जानकारी नभएको दाबी गरेको छ।
नेपाल पक्षले आफूले गरेका गतिविधिप्रति आत्मआलोचना गर्नुपर्ने सर्त ओली पक्षले राखेको छ। ‘हामीले के गल्ती गरेका छौं र माफी माग्ने,’ नेपाल पक्षका एक सांसदले भने, ‘हामी एमालेमै रहने हो, तर कृष्णभक्तजीले गरेजस्तो गरी होइन।’
अहिलेको अवस्था सिर्जना हुनुमा प्रमुख रूपमा अध्यक्ष ओली जिम्मेवार रहेको नेपाल पक्षको आरोप छ।
पछिल्लो समय नेपाल पक्षले जनवर्गीय संगठनका भेला आयोजना गरिरहेको छ। यस क्रममा उसले युवा, महिला र विद्यार्थीको अलग्गै (समानान्तर) कमिटीसमेत गठन गरिसकेको छ।
‘स्पष्टीकरण दिने र आफ्ना गतिविधि पनि निरन्तर गर्ने नीति हो,’ नेपाल पक्षधर एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘अहिलेसम्मको नीति भनेको एमाले पुनर्गठन गरेर अघि बढ्ने योजना हो। त्यसैअनुसार गतिविधि सञ्चालन गर्दै जाने छौं।’

प्रतिक्रिया