नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह छाडेर सांसद कृष्णभक्त पोखरेल ओली समूहमा लागेका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहभागी भएको सांसद पोखरेलले ओली नेतृत्वको सरकार ५ वर्ष चल्नुपर्छ भन्ने दृढ अठोट र विश्वासका साथ संसदीय दलको बैठकमा आएको बताएका हुन्।
उनले नेपाल–खनाल समूहको पनि ओलीलाई संसदीय दलबाट हटाउने उद्देश्य नरहेको बन्दै प्रधानमन्त्रीलाई असहयोग गर्नुको कुनै अर्थ नभएको बताए।
उनले बेलायतका पूर्वप्रधानमन्त्री जोन मेजरमाथि आएको अविश्वासको प्रस्तावको उदाहरण दिँदै नेपालमा जे गरे पनि ओली सरकार ५ वर्ष टिक्ने बताएका हन्।
‘संसदीय दलको अर्को नेता छ वा हामी बनाउदैछौँ भनेर रोक्नुपर्यो, होइन भने संसदीय दलको बैठकमा लगातार तीन पटकसम्म नजाने आधारहरु के हुन्?’, नेपाल खनाल समूहलाई प्रश्न गर्दै सांसद पोखरेलले भने, ‘मैले बेलायतका जोन मेजरको पनि उदाहरण दिए। उलाई पनि सम्माननीय प्रधानमन्त्रीलाई जस्तै असहयोग भयो। संसदीय दलको बैठक बस्यो। उहाँले राजीनामा दिनुभयो। ल आउनुहोस् फ्रि प्रतिस्पर्धा गरौँ भन्नु भयो। अर्को एक जनाले उम्मेदवारी दियो र पछि फिर्ता लियो। ढुक्कसँग ५ वर्ष मेजरलाई सरकार चलाउन दियो।’
उनले प्रधानमन्त्री र संसदीय दलबाट ओलीलाई नहटाउने भए कोठे बैठकबाट केही नहुने बताए। आफू नेपाल–खनाल समूहमा छँदा पनि परिस्थिति गलत ढंगले नजाओस् भनेर भूमिका खेलेको उनले दावी गरे।
‘केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट फाल्ने योजना छ?, फाल्न सक्छौँ? फाल्ने योजना छैन भने अब पनि अरु कोणबाट यो वा त्यो ढंगबाट यसप्रकारका कोठे बैठकबाट हुँदैन’, उनले भने, ‘म निरन्तर सभामा पनि थिएँ, दुई दिनसम्म चलेको। त्यहाँबाट पनि गलत ढंगबाट नजाओस् भनेर मैले आफ्नो हिसाबले प्रयत्न गरेर म यहाँ आएको छु। म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार पाँच वर्षसम्म चलेर हामीले जनतासँग गरेका पूरा गरेर फर्कने दृढ अठोट र विश्वासका साथ म यहाँ आएको छु।’
नेकपा विभाजनका बेला निर्वाचन आयोग हेर्ने गरेका पोखरेल कानुन व्यवसायी पनि हुन्। उनी चितवनबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

प्रतिक्रिया