कारोबार


सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा

नेपालखबर
चैत ७, २०७७ शनिबार ६:५२,

दाङको घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन्।

उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले संयुक्तरूपमा मुद्दा दायर गरेका हुन्।

रिटमा मानवबस्तीबीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरमा सिमेन्टको धुलो जम्मा हुने गरेको, ध्वनि प्रदूषणले रातमा पनि सुत्न नसकिएको भन्दै सम्मानपूर्वक बाँच्न पाउनुपर्ने माग दाबी गरेका छन्। सगरमाथा सिमेन्ट उद्योगले दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ।

अदालतको कारण देखाउ आदेश
उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षितको एकल इजलासले सिमेन्ट उद्योग, सञ्चालक समितिका अध्यक्ष, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, उपमहानगरपालिका र नगरप्रमुखका नाममा १५ दिनको कारण देखाउ आदेश जारी गरेको छ।

त्यसैगरी निवेदकले अन्तरिम आदेशसमेत माग गरेकाले विपक्षीलाई यही चैत ९ गते अदालतमा उपस्थित हुन आदेश दिएको उच्च अदालतले जनाएको छ।

उपस्थित हुँदा २०७२ भदौ ३२ गते सिमेन्ट उद्योग र स्थानीयबीच भएको सहमतिअनुसार काम भएको भए सोको प्रतिवेदन, दैनिकरुपमा निस्कने धुलो, धुवाँ, ध्वनि प्रदूषण नियन्त्रण तथा रोकथामका लागि भएका काम कारवाहीको विवरण, त्यसैगरी वातावरण संरक्षणका लागि जिल्लामा वातावरणीय समिति गठन भएका छन् वा छैनन्, वातावरण संरक्षणका लागि हालसम्म भएका काम कारवाही र प्रदूषण राकथाम तथा नियन्त्रणका लागि वातावरण निरीक्षक नियुक्त गरिएको छ या छैन सोको सक्कल विवरणसहित छलफलमा उपस्थित हुन आदेशमा भनिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad