नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजेका लागि बोलाएको बैठक १ घण्टा ढिला गरी सुरु भएको हो।
आजको बैठकमा विधान संशोधन समितिले प्रस्ताव गरेको संशोधन प्रस्ताव, संसदीय बोर्डको पूर्णता लगायतका विषयमा छलफल हुने सांसद पदम गिरीले जानकारी दिए।
‘आजको बैठकमा संसदीय दलको विधान संशोधन प्रस्ताव, संसदीय बोर्डको पूर्णता लगायतका विषयमा छलफल हुन्छ’, सांसद गिरीले नेपालखबरसँग भने।
बिहीबार बसेको नेकपा संसदीय दलले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो। कार्यदलले संशोधन प्रस्ताव तयार गरेको र सोही प्रस्तावमाथि आजको बैठकमा छलफल हुने भएको हो।
त्यस्तै बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुमाथि कारबाही गर्न सक्ने समेत गिरीले बताए। उनले नेपाल खनाल समूहका सांसदमाथि कारबाहीको तयारी अगाडि बढेको समेत जानकारी दिए।
‘संसदीय दलको विधानविपरीत गतिविधि गर्नेलाई कारबाही हुन्छ’, सांसद गिरीले भने, ‘आजको बैठकले कारबाही गर्नसक्छ, आज नभए अर्को बैठकले गर्छ।’
बैठकमा एमाले उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतम पनि उपस्थित भएको सांसद विशाल भट्टराईले बताए।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भए पनि गौतम कुनै पनि पक्षमा नलागि पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरेर बसेका थिए।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि गौतम एमाले एक हुनपर्ने बताउँदै आएका थिए।
शुक्रबार भएको किसान महासंघको भेलामा गौतमले आफू बैठकमा जाने भन्दै नेपाल–खनाल समूहलाई पनि बैठकमै गएर ओलीविरुद्ध लड्न आग्रह गरेका थिए।
त्यस्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भने आजको बैठकमा सहभागी नहुने बताइसकेको छ।
शुक्रबार बानेश्वरमा बसेको नेपाल–खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठकले संसदीय दलको र आजैका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय समितिको बैठक डाकेर, महाधिवेशनको मिति घोषण गर्ने, केन्द्रीय सदस्य थप गर्ने, पदाधिकारी बर्खास्त गर्ने लगायतका निर्णय गरेपछि एमाले फुटको संघारमा पुगेको छ।
नेपाल–खनाल पुसले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत सम्पन्न गरिसकेको छ।
संसदीय दलको बैठकपछि आजै एमाले केन्द्रीय समितिको बैठक पनि बालुवाटारमै बस्ने बताइएको छ।
Shares

प्रतिक्रिया