अमेरिकामा एसियालीमूलका मानिसहरुमाथि हिंसा भइरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले ‘एसियाली विरुद्धको घृणा रोक’ (स्टोप एसियन हेट) भन्ने आह्वान गरेको छ।
गतवर्षबाट कोभिड महामारी सुरु भएदेखि अमेरिकामा रहेका बिभिन्न एसियाली मुलुकका मानिसहरुमाथि हिंसा बढेपछि त्यसविरुद्ध संसारभर चिन्ता व्यक्त हुन थालेको छ।
‘हाम्रो देशलाई प्रतिनिधित्व गर्दै नेपाल र एसियाभर अमेरिकीहरु छरिएका बेला, हाम्रै देशमा एसियाली अमेरिकीविरुद्ध भइरहेको हिंसाबाट हामी गहिरोरुपमा दुःखी भएका छौं,’ नेपालस्थित अमेरिकी दूतावासले बिहीबार सामाजिक सञ्जालमार्फत् भनेको छ, ‘त्यसो गर्नुको नियतबारे हामीलाई केहि थाहा नभए पनि हामी एसियाली अमेरिकी र प्यासिफिक क्षेत्रका समुदायको पक्षमा उभिँदै घृणाजनक यस्ता गतिबिधिको भर्त्सना गर्दछौं।’
गतवर्षबाट सुरु भएको महामारीका बेला अमेरिकामा एसियालीमूलका मानिसहरुविरुद्ध कम्तिमा ३८ सय हिंसाका घट्ना भएको एक अध्ययनले देखाएको छ।
मंगलबार सार्वजनिक गरिएको सो अध्ययन रिपोर्टका अनुसार त्यस्ता हिंसाका घट्नामा महिलाहरुलाई अझ बढी निशाना बनाइएको उल्लेख छ।
उनीहरुलाई गाली बेइज्जती, भौतिक आक्रमण, सताउने, हेप्ने लगायत बिभिन्न प्रकृतिका गतिबिधि गरिएको सो रिपोर्टमा जनाइएको छ।

प्रतिक्रिया