राजनीति


बाइडेनले राखेको वार्ताको प्रस्तावमा उत्तर कोरिया मौन, वार्ताको उद्देश्य के हो?

बाइडेनले राखेको वार्ताको प्रस्तावमा उत्तर कोरिया मौन, वार्ताको उद्देश्य के हो?

नेपालखबर
चैत २, २०७७ सोमबार २३:५४,

अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले वार्ताको प्रस्ताव गरे पनि उत्तर कोरियाले कुनै प्रतिक्रिया नदिएको अधिकारीहरुले जनाएका छन्। 

बाइडेन प्रशासनले फेब्रुअरी महिनायता उत्तरकोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। तर, अमेरिकी प्रयासका बाबजुत अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बाइडेन प्रशासनको भनाई छ।

अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वाशिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो। उत्तर कोरियाको परमाणु कार्यक्रम र विभिन्न क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहँदै आएको छ।

बाइडनका पूर्ववर्ती डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच तीन पटक वार्ता भएपनि तिनले उल्लेखनीय प्रतिफल दिन सकेका थिएनन्।

उत्तर कोरिया आणविक अस्त्र परित्याग गर्न सहमत होस् भन्ने अमेरिका र पश्चिमा मुलुकहरूको प्रमुख चाहना हो। तर वार्ताका क्रममा सहमति बन्न नसकेपछि ती वार्ताले अपेक्षाकृत सफलता पाउन नसकेका हुन्।

हुन त दुई वर्ष पहिले अमेरिका र उत्तर कोरियाबीच लडाईं नै हुनसक्ने खालका प्रतिक्रियाहरू एक अर्काले जनाउने गरेका थिए । वार्ताका माध्यमबाट कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्ने ट्रम्प प्रशासनको नीतिले सफलता पाउन सकेको थिएन।

प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत ‘न्यूयोर्क च्यानल’ भनिने संयुक्त राष्ट्रसङ्घमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको थियो।

बेलायती समाचारसंस्था रोएटर्सका अनुसार उत्तर कोरियासँग ‘कैयौँ पटक’ सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन नसकेको अधिकारीहरुको भनाई छ।

बाइडनले यसअघि नै उत्तर कोरियाका लागि आफ्नो नीतिको समीक्षा गर्ने घोषणा गरेका थिए। त्यस्तो समीक्षा एप्रिल महिनामा सार्वजनिक गरिने अपेक्षा गरिएको छ। उत्तर कोरियामाथिको चर्को प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङ्याङको आणविक निरस्त्रीकरण हुनुपर्ने अपेक्षा बाइडेन प्रशासनको छ।

उत्तर कोरियाले अझ स्पष्ट निसाना गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र, ठूला आणविक हतियार, जासुसी भूउपग्रह र आणविक ऊर्जाचालित पनडुब्बीहरू विकास गरेको प्योङयाङबारे जानकारहरूले बताउने गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad