नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले अहिलेसम्म पार्टी एक हुने अवस्था नदेखिएको बताएकी छन्।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सोमबार पार्टीको केन्द्रीय कार्यालय (धुम्बाराही) मा भएको वार्तापछि नेत्री झाँक्रीले आजका दिनसम्म दुई पक्षबीच एकताको सम्भावना नदेखिएको बताएकी हुन्।
सर्वाेच्च अदालतको फैसलाले एमालेलाई २०७५ जेठ २ गतेअघिकै अवस्थामा पुर्याएको उल्लेख गर्दै पार्टी एक बनाउने हो भने त्यसयताका सबै निर्णय खारेज हुनुपर्ने उनको भनाइ छ।
नेपाल पक्षकी नेत्री झाँक्रीले सोमबार राति सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन।’
यस क्रममा उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको एकपटक फेरि आलोचना गरेकी छन्। तर पनि सोमबार माधव नेपाल पक्षसँग वार्ता गर्नुलाई उनले सकारात्मक मानेकी छन्।
‘षड्यन्त्र, छलछाम गरेर ५ वर्षका लागि प्राप्त जनताको म्यान्डेटलाई संसद र पार्टी एकता भंग गरेर अस्थिरतातिर धकेल्न खोज्नु जनमतको अपमान हो तर पनि आज (सोमबार) को संवादलाई सकारात्मक मान्न सकिन्छ,’ नेत्री झाँक्रीले भनेकी छन्।
सर्वाेच्च अदालतले यही फागुन २३ गते नेकपा बदर गर्दै यसमा एकीकृत पहिलेकै दुई दल अस्तित्वमा आउने भनेर गरेको फैसलाले एमालेलाई २०७५ जेठ २ अघिकै अवस्थामा पुर्याएकाले त्यसभन्दा पछिका कुनै पनि निर्णय मान्न नसकिने उनले बताएकी छन्।
‘नेकपा एमाले पार्टीको अस्तित्वको आधार फागुन २३ गतेको सर्वोच्चको फैसला हो। त्यसले भनेको छ– नेकपा एमालेको वैधानिक आधार २०७५ जेठ २ अघिको अवस्था हो,’ उनले भनेकी छन्, ‘त्यही आधारमा अगाडि बढ्ने हो भने मात्र पार्टी एक रहन सक्छ, त्यसका लागि आधारभूत रूपमा २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शून्य मान्नुपर्दछ।’

प्रतिक्रिया