ad ad

राजनीति


राष्ट्रिय भेलामार्फत तीन वर्षअघिकै पार्टी कमिटी ब्युँताउने तयारीमा नेपाल–खनाल

राष्ट्रिय भेलामार्फत तीन वर्षअघिकै पार्टी कमिटी ब्युँताउने तयारीमा नेपाल–खनाल

मणि दाहाल
चैत २, २०७७ सोमबार १६:३९,

नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले अदालतको फैसलाअनुसार पार्टीको तीन वर्षअघिका कमिटीहरु सक्रिय बनाउने तयारी गरेको छ। चैत ४ र ५ गते आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेलामार्फत सो निर्णय गर्ने नेताहरुले बताएका छन्।

भेलाले अदालतको फैसलाको सम्मान गर्दै २०७५ जेठ २ गते रहेको एमालेको कमिटीलाई ब्युँताउने निर्णय गर्ने एक नेताले बताए।

‘राष्ट्रिय भेलामा देशको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको समस्याको विषयमा कार्यकर्ताको धारणा बुझ्ने काम हुन्छ,’ ती नेताले भने, ‘भेलाले अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेसम्म कायम रहेका पार्टी कमिटीलाई सक्रिय पार्ने निर्णय गर्ने छ।’

तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उनका पक्षका नेताहरुले भने तीन वर्षयता परिस्थितिमा धेरै परिवर्तन भइसकेको भन्दै पुरानै अवस्थामा फर्किन नसक्ने बताउँदै आएका छन्।

दुवै पक्षबीच अदालतको फैसलापछि पार्टी संगठनभित्रको प्रस्थान बिन्दु कुन हुने भन्ने विषयमा विवाद छ।

अध्यक्ष ओली पक्षले फागुन २८ गते पार्टीको केन्द्रीय कमिटीको बैठक राखेर संगठन र जिम्मेवारी हेरफेर गरेको छ। बैठकले माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई थप गरेको थियो। जसलाई नेपाल पक्षले अस्वीकार गरेको छ।

सोमबार ओली र नेपाल पक्षबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले चैत ४ र ५ गतेको राष्ट्रिय भेला स्थगित गर्न आग्रह गरेका थिए भने नेपाल पक्षले फागुन २८ गते भएको निर्णयहरु फिर्ता लिन आग्रह गरेको थियो।

तर, दुवै पक्ष आआफ्नो अडानमा कायम रहेपछि सहमति हुन सकेन।

ललितपुरको सानेपास्थित हेरिटेज ब्यांक्वेटमा हुने भेलामा पार्टीभित्र अहिलेको परिस्थिति कसरी सिर्जना भयो र अब कसरी अघि बढ्ने भन्ने विषयमा प्रतिवदेन प्रस्तुत गर्ने तयारी भइरहेको छ।
जसका लागि एमालेका उपमहासचिव घनश्याम भुसाल र पोलिटब्युरो सदस्य बेदुराम भुसालले प्रतिवेदन लेखेका छन्।

‘स्थायी कमिटीका नेताहरुबीच छलफलपछि त्यसलाई अन्तिम रुप दिएर कार्यक्रममा प्रस्तुत गरिने छ,’ ती नेताले भने।

कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, जनवर्गीय संगठनका केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश पदाधिकारीहरु केन्द्रीय विभागका सदस्यहरु र जिल्ला अध्यक्षहरु उपस्थित हुने छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .