नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समीकरणबारे छलफल गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ।
सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेस र जसपासँग छलफल गर्न जाने जानकारी दिएका थिए।
‘हामीले ओलीको प्रतिगामी कदमविरुद्ध संघर्षरत दलहरुसँग छलफल र सहकार्य गर्ने निर्णय गरेका थियौं’ केन्द्रीय सदस्य युवराज चौलागाईंले नेपालखबरसँग भने, ‘आजै कांग्रेस र जसपासँग छलफल गर्ने अध्यक्ष प्रचण्डले बैठकमा जानकारी दिनुभयो।’
सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरवलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने निर्णय भएको पनि केन्द्रीय सदस्य चौलागाईंले बताए।
बैठकमा २० जना नेताहरुले आफ्नो धारणा राखेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए। अब केन्द्रीय समितिको बैठक केही दिनका लागि स्थगित गरिएको पनि उनले बताए।
आइतबारदेखि सुरु भएको बैठकमा ६ वटा एजेण्डा प्रस्तुत भएका थिए तर, ती कुनैपनि एजेण्डाबारे निर्णय भने भएको छैन।
पार्टीको विधान, सांगठनिक संरचना परिवर्तन, नेतामाथि कारवाही लगायतका विषयमा निर्णय गर्नको लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसेको थियो।
पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता हुन दिएको समयसीमा सकिएको छ। यस्तै माओवादी केन्द्रबाट एमालेमा केन्द्रीय सदस्य बनेका २३ जनालाई स्पष्टीकरण सोधेको थियो। त्यसबारे आजको बैठकले केही निर्णय गरेको सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया