राजनीति


एमालेमा गएका नेतालाई कारबाहीदेखि पार्टीको नाम फेर्नेसम्मका एजेन्डामा आज थप छलफल गरिने

एमालेमा गएका नेतालाई कारबाहीदेखि पार्टीको नाम फेर्नेसम्मका एजेन्डामा आज थप छलफल गरिने

नेपालखबर
चैत २, २०७७ सोमबार ३:१०,

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज (सोमबार) दोस्रो दिन पनि बस्दै छ।

माओवादी केन्द्रका स्थायी कमिटी एवं केन्द्रीय सदस्य लीलामणि पोखरेलका अनुसार पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बैठकले बिहान ११ बजेदेखि निरन्तरता पाउनेछ।

सर्वाेच्च अदालतले नेकपा खारेज गर्दै यसमा मिसिएका दुई दल (एमाले र माओवादी केन्द्र) ब्युताइँदिएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलोपटक हिजो आइतबार बसेको हो। त्यही बैठकले आज पनि निरन्तरता पाउने भएको हो।

हिजोको बैठकको निर्णयअनुसार ओली सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता आउन तथा गृहमन्त्री बादलसहित एमालेमा लागेका नेताहरूलाई स्पष्टीकरण दिन निर्देशन दिँदै माओवादी केन्द्रले पत्राचार गरेको छ।

याे पनि : एमालेमा गएका बादलसहितका नेतालाई माओवादीको पत्र : उतै बस्ने कि फर्कने?

यसैगरी पार्टीको नाम फेरेर नेपाली कम्युनिस्ट पार्टी राख्नेलगायत ६ प्रस्ताव बैठकमा प्रस्तुत भएको केन्द्रीय सदस्य पोखरेलले जानकारी दिए।

‘आज तिनै एजेन्डालाई निष्कर्षमा पुर्‍याउन थप छलफल गरिनेछ,’ नेता पोखरेलले सोमबार बिहान नेपालखबरसँग भने।

उनका अनुसार प्रस्तुत एजेन्डामा आज केन्द्रीय सदस्यले आफ्ना राय/सुझाव राख्नेछन् र त्यसअनुसार विषयवस्तुलाई टुंगोमा पुर्‍याइनेछ। यी विषय कहिले निर्णयसम्म पुग्छन् भनेर अहिल्यै भन्न नसकिने उनको भनाइ छ।

माओवादी केन्द्रको केन्द्रीय बैठकमा एमालेमा गएका नेतालाई कारबाही, पार्टीको नाम फेर्ने, सांगठनिक संरचना परिवर्तनका लागि विधान संशोधनलगायत ६ एजेन्डामा छलफल भइरहेका छन्।

पहिलो दिन आइतबार पार्टी कार्यालयका तर्फबाट अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिबारे जानकारी गराएका थिए भने ७ भौगोलिक प्रदेशसहित १० प्रदेशका तर्फबाट इन्चार्ज/सह-इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad