नेकपा (माओवादी केन्द्र)का प्रदेश इन्चार्जहरुले पार्टीलाई रुपान्तरण गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्ज र सहइन्चार्जहरुले रिपोर्टिङ गर्दै नयाँ परिस्थितिमा थप रुपान्तरणसहित अगाडि बढ्नुपर्ने बताएका छन्।
एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि यथावत् अवस्थामा पुगेको पार्टीलाई नयाँ जोशसहित अगाडि बढाउनका लागि योजना र कार्यक्रम ल्याउन आग्रह गरेका छन्।
उनीहरुले अहिलेको अवस्थामा पनि पार्टी एकढिक्का र यथावत अवस्थामै रहेको रिपोर्टिङ गरेका थिए।
‘आज सात भौगोलिक प्रदेशसहित १० प्रदेशका इन्चार्ज र सहइन्चार्जले रिपोर्टिङ गर्नुभयो’, केन्द्रीय सदस्य युवराज चौलागाईंले नेपालखबरसँग भने, ‘अहिलेसम्म पार्टी एकढिक्का नै छ। धेरै समस्या परेको छैन। जिल्ला, गाउँ र वडासम्मै रहेका संगठन यथावत छन्। त्यसलाई सुचारु गर्नका लागि कार्यक्रम चाहिन्छ।’
इन्चार्जहरुले सर्वोच्चको फैसलाले पार्टीलाई कुनै घाटा नभएको बताए। लुम्बिनी प्रदेशमा ६ जना केन्द्रीय सदस्य, प्रदेश २ का अध्यक्ष प्रभु साह लगायतले पार्टी छाडे पनि रामबहादुर थापा र सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट भने एक्लाएक्लै एमालेमा गएको छन्।
सुदूरपश्चिम प्रदेशमा १४ जना केन्द्रीय समिति सदस्य रहेकोमा आजको बैठकमा १३ जना उपस्थित रहेको चौलागाईंले दावी गरे।
‘लुम्बिनी प्रदेशबाहेक अन्त संगठनलाई खासै असर गरेको छैन’, ‘केही नेताहरु गएका कारण बाहिर हल्ला चले पनि त्यसले संगठनलाई घाटा भएको छैन।’
बैठकमा प्रदेश १ बाट सावित्री भुसाल, २ बाट विश्वनाथ साह, बागमती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए।

प्रतिक्रिया