नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
शनिबार बसेको नेपाल समूहको केन्द्रीय समिति बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।
कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, जनवर्गिय संगठनका केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश पदाधिकारीहरु केन्द्रीय विभागका सदस्यहरु र जिल्ला अध्यक्षहरु उपस्थित हुने नेकपा(एमाले) माधव समुहका नेता भीम रावलले जानकारी दिए।
राष्ट्रिय भेलाले महत्वपूर्ण निर्णय गर्ने उनको भनाई छ। शनिबारको भेलाले प्रधानमन्त्री ओलीले नेकपा(एमाले)लाई फुटाउने गरी शुक्रबार जिम्मेवारी हेरफेर सम्बन्धी निर्णय गरिएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिए।
प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावली विपरीत रहेको उनले बताए।
'यो भेलाबाट हामीले नेकपा (एमाले) को एकतालाई टुटाउने, पार्टी फुटाउने गरी जसरी पार्टीका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीले बालुवाटारमा हिजो आफ्नो गुटको भेला गरेर जुन प्रकारको निर्णय गर्नुभएको छ, त्यसलाई हामीले अस्वीकार गरेका छौँ। त्यसको हामीले निन्दा, र्भत्सना गरेका छौ’, उनले भने, ‘पार्टीको विधान विपरित, नियमावली विपरीत, यसको प्रणाली विपरीत र यसको कार्यशैली विपरीत जसरी काम गर्नुभयो। त्यो अत्यन्त आपत्तिजनक छ, अवैध र उहाँले जुन प्रकारले घोषणा गर्नुभयो त्यो हाँस्यास्पद पनि छ। यसले कुनै विधि, प्रणाली, प्रक्रियाको अवलम्बन गरेको छैन र त्यो बैठक बारेमा केन्द्रीय कमिटीका पदाधिकारीहरु, सदस्यहरुलाई जनकारी पनि गराइएको छैन।’
नेता रावलले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरीत अवैध तरिकाले माओवादी (केन्द्र)का नेताहरुलाई एमालेमा मनोनित गरिएको पनि बताए।
‘सर्वोच्च अदालतको फैसला विपरीत अर्को पार्टी नेकपा (माओवादी केन्द्र)मा रहेका व्यक्तिहरुलाई नेकपा(एमाले)मा मनोनयन गरे भनेर अर्को अवैध र हास्यास्पद निर्णय ओलीले गर्नुभएको छ। हाम्रो पार्टीको विधान अनुरुप कुनै पनि व्यक्ति केन्द्रीय कमिटीमा आउनका लागि वा मनोनयन गर्नका लागि स्पष्ट व्यवस्था गरिएको छ।’, उनले भने, ‘थप सदस्य मनोनयन गर्ने अधिकार छैन। जानकारी नगराईएको बैठक, बहुमत नपुगेको बैठकको निर्णय अवैध छ। विधि, प्रणाली विपरीत छ। अमान्य छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल समुहलाइ थाहै नदिइृ पदाधिकारी बर्खास्त गर्न, नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने, एकलौटीरुपमा महाधिवेशन घोषणा गर्ने लगायतका महत्पूर्ण निर्णय गराएपछि नेपाल समुहले त्यसको प्रतिकार गर्ने बताउँदै आएको छ।
नेपाल समूहले शनिबार प्रदेशम र विभागमा समानन्तर कमिटी समेत गठन गरेको छ।

प्रतिक्रिया