पत्रकार/लेखक किशोर नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सेटिङ’ देखेर सबै छक्क परेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभा पुनर्स्थापना भयो भनेर मक्ख परिरहेका बेला सर्वाेच्च अदालतले कम्युनिस्ट एकतै भत्काइदिँदा ‘पूरै सहर’ आश्चर्यचकित भएको विश्लेषण उनले गरेका हुन्।
‘सेटिङ होस् त यस्तो जब्बरको। पेसेवर जुवाडेलाई पनि माथ गर्ने तिया दाउ नलागे छक्का। छक्का नलागे अदृश्य सेटिङ त पक्का,’ राजनीतिक विश्लेषक नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जुन सर्वाेच्च अदालतले प्रतिनिधि सभा ब्युँतायो, त्यसैले भत्काइदियो कम्युनिस्ट एकता। चटक देखेर पूरै सहर छक्क भयो। यो न हो प्रम ओलीको सेटिङ।’
नेपालले गरेको यो ट्विटलाई विघटित नेकपा एवं पुनर्स्थापित एमालेकी नेतृ रामकुमारी झाँक्रीले पनि लाइक गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन सर्वाेच्च अदालतले यही फागुन ११ गते बदर गरेको हो। अर्थात् संसद् पुनर्स्थापना गराएको हो।
तर नेकपा नामबारे विवादमा २ वर्षअघि ऋषि कट्टेलले दिएको मुद्दाको यही फागुन २३ गते फैसला गर्दै सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नै खारेज गरिदिएको हो। योसँगै अहिले देशको राजनीतिक ‘कोर्स’ नै बदलिएको छ। अर्थात् नेकपाको आधिकारिताका लागि लडाइँ गरिरहेका प्रचण्ड र ओली फैसलाअनुसार आआफ्नै पार्टीमा फर्किएका छन्।
पत्रकार किशोर नेपालले यसै विषयमा आफ्नो धारणा राखेका हुन्।

प्रतिक्रिया