जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले आफ्ना माग पुरा गर्नेहरुप्रति आफूहरुको सहानुभूति हुने बताएका छन्।
बुधबार संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले पहिले पनि समर्थन गरेको र ठग्नेबाहेक अरु काम नभएको बताए।
ओली नेतृत्वबको सरकारमा जाँदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा महतोले आफ्ना माग पुरा नभएसम्म सरकारमा नजाने बताए। उनले उधारो सहमति आफूहरुलाई मान्य नहुने बताए।
‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेको होइन? फेरि गर्ने? त्यसैका लागि जन्मेको हो हामी?’ महतोले भने, ‘शासकहरुलाई सित्तैँमा समर्थन गर्न जन्मेको हो हामी?’
उनले रेशम चौधरीको रिहाइ, मधेस, थरुहट आन्दोलनको बेलाको मुद्दा फिर्ता संविधान संशोधन लगाएत आफ्ना माग पुरा भए मात्रै सरकारमा जाने बताए।
‘यी मुद्दा हामीले पटक–पटक राख्दै आएको हो, केपी ओलीलाई पनि राखेको हो,’ उनले भने, ‘ठग्नेबाहेक ओलीले अरु काम गरेनन्। काम गरेर देखाउनु परेन?’
उनले कार्यदल छलफलका लागि बनाएको बताउँदै अहिलेसम्म केही छलफल नभएको बताए। उनले अहिले माग पुरा गराउन कार्यदल बनाएको बताउँदै त्यसपछि मात्रै सत्ताको कुरा आउने बताए।
Shares

प्रतिक्रिया