उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला हिंसाका घटनाहरु न्युनिकरण हुन नसकेको र अपराधीहरु कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भिरतापूर्वक सोच्ने बेला आएको बताए। उनले महिला हिंसाका घटनाले दिदीबहिनीहरुले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै महिला हिंसाको अन्त्य बिना समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका हुन्।
उनले भने, ‘महिला हिंसाका घटना न्यूनिकरण हुन सकिरहेको छैन। यो ज्यादै दुःखको कुरा हो। स–साना बालबालिकाहरुको बलात्कारपछि हत्याका घटनामा अपेक्षाकृत न्युनिकरण हुन सकिरहेको छैन। कतिपय घटनाका अपराधीहरु कानुनको दायरामा आउन सकिरहेका छैनन्। महिला हिंसाका अन्य घटनाहरुपनि थुप्रै घटिरहेका छन्। र मानिसमा चेतनाको कमीका कारण हो या अपराधीको पहिचान र उचित कानुनी कारबाही हुन नसक्दा यस्ता घटना घटिरहेका छन्। यसमा हामी सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ।’
उनले थपे, ‘एक्काइसौँ शताब्दीको यो सभ्य समाजलाई गिज्याइरहेका महिला हिंसाका घटनाहरुले हाम्रो दिदीबहिनीहरुले असुरक्षित महसुस गरिरहनुभएको छ। अर्कोतर्फ यस्ता घटनाहरुले विश्व जगतमा देशको छवि समेत धुमिल बनिरहेको छ। हामीले जबसम्म स्कुल गएका छोरीहरु घर फर्कन सक्दैनन् कि, मध्यरातमा कार्यस्थलबाट फर्किरहेका दिदीबहिनीहरु हिंसामा पर्छन कि, घर भित्र रहेका दिदीबहिनीहरु कुटपिट तथा हिंसामा पर्छन् कि भन्ने आशंका गरिरहनुपर्ने अवस्थाको जबसम्म अन्त्य गर्दैनौँ तबसम्म हाम्रो समाज सभ्य र सुरक्षित बन्न सक्दैन।’
उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धी प्रति गर्व गर्दै बाँकी उपलब्धीहरुका लागि सचेत रहन आग्रह समेत गरे। महिला सशक्तिकरणका लागि शिक्षा र आर्थिक आत्मनिर्भरता पहिलो पाटो रहेको भन्दै उनले देशको समृद्धिको लागि उद्यम क्षेत्रमा महिलाहरुको सहभागिता आवश्यक रहेको बताए।
Shares

प्रतिक्रिया