सर्वोच्च अदातलको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवारी दिएर निर्वाचित भएका सदस्यहरुको अवस्था के हुन्छ भन्ने अन्यौल उत्पन्न भएको छ।
२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएपछि नेपाल कम्युनिस्ट पार्टी (नकेपा) बनेको थियो। त्यसअधि सोही नाममा निर्वाचनमा आयोगमा ऋषि कट्टेलले पार्टी दर्ता गरेका थिए।
नेकपाले आफ्नो पार्टीको नामसँग मिल्ने नाम राखेर पार्टी दर्ता गरेको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दाएर गरेका थिए। सोही रिटमाथि आइतबार फैसला गर्दै सर्वोच्चले कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाबाट निर्वाचित भएका सांसद तथा स्थानीय प्रतिनिधिहरुकाे अवस्था के हुने भन्ने प्रश्न उठेकाे हाे।
नेकपाबाटै उम्मेदवारी दिएर राष्ट्रिय सभामा १६ जना सांसद निर्वाचित भएका थिए। २०७६ माघ ९ गते राष्ट्रियसभाको निर्वाचन भएको हाे।
त्यसैगरी प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा भएको उपनिर्वाचनबाट नेकपा उम्मेदवारकाे रुपमा निर्वाचित भएका जनप्रतिनिधिहरुको हैसियत पनि के हुने भन्ने अन्यौल बढेको छ।
२०७५ जेठ ३ मा नेकपा-एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि नेकपाले राष्ट्रियसभा र प्रतिनिधि सभाको उपनिर्वाचन समेत भाग लिएको थियो। त्यसैगरी उपनिर्वाचनमा नेकपाकै तर्फबाट रिक्त स्थानीय तहमा पनि निर्वाचित भएका थिए।
२०७६ माघ ९ गते राष्ट्रिय सभाको निर्वाचनमा नेकपाका तर्फबाट प्रदेश १ बाट इन्दिरादेवी गौतम, गोपीबहादुर आछामी, देबेन्द्र दाहाल, प्रदेश २ बाट तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, बागमती प्रदेशबाट गंगाकुमारी बेलवासे, बेदुराम भुसाल, गण्डकी प्रदेशबाट भगवानी न्यौपाने, नारायणकाजी श्रेष्ठ बिजयी भएका थिए।
त्यस्तै लुम्बिनी प्रदेशबाट विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, कर्णाली प्रदेश सुमित्रा बिसी, मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट शारदादेवी भट्ट र तारामान स्वाँर निर्वाचित भएका थिए।
त्यसैगरी प्रतिनिधिसभामा कास्की २ बाट निर्वाचित विद्या भट्टराई र प्रदेशसभातर्फ दाङ ३ ‘ख’ बाट बिमला खत्री निर्वाचित भएकी थिइन्।
त्यसैगरी उपनिर्वाचनमा विभिन्न वडा तथा गाउँपालिकामा निर्वाचन भएको थियो।
सो निर्वाचनमा नेकपाबाट पाँचथरको फिदिम नगरपालिका– १ को वडाध्यक्षमा गजाधर भट्टराई, संखुवासभाको खाँदवारी– ३ को वडाध्यक्षमा भरतकुमार घिमिरे, भोजपुरको पौवादुङमा गाउँपालिका– १ को वडाध्यक्षमा जितेन्द्र राई, खोटाङको साकेला गाउँपालिका– ३ को वडाध्यक्षमा शिवकला राई, सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा दिलिप कुमार यादव, रामेछापको उमाकुण्ड गाउँपालिका– ५ को वडाध्यक्षमा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका– ८ को वडाध्यक्षमा केदारनाथ आचार्य विजयी भएका थिए।
त्यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ को वडाध्यक्षमा देवप्रसाद कोइराला, काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को वडाध्यक्षमा शिवभक्ति वलामी, लमजुङको सुन्दरबजार नगरपालिका– २ का वडाध्यक्षमा नवीन कुमार श्रेष्ठ,बागलुङ बडीगाड गाउँपालिका–२ का वडाध्यक्षमा ढालप्रसाद शेरचन, नवलपरासी (पूर्व) बौदीकाली गाउँपालिका–५ का वडाध्यक्ष खिमबहादुर थापा खरु मगर, गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ६ को वडाध्यक्षमा गिरीप्रसाद सिंजाली, प्युठानको प्युठान नगरपालिका–२ को वडाध्यक्षमा मुक्ति पोख्रेल निर्वाचित भएका थिए।
त्यस्तै रोल्पाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षमा जनकबहादुर बुढामगर, बाँके कोहलपुर नगरपालिका–६ को वडाध्यक्षमा रामशरण थारु, सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्षमा धर्मे बुढाथोकी, बाजुरा त्रिवेणी नगरपालिका– १ को वडाध्यक्षमा मन राजे बुढा, अछामको मेल्लेख गाउँपालिका–५ को वडाध्यक्ष रमेश बहादुर खड्का, डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्षमा रामबहादुर बोहोरा, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ, बैतडीको पुर्चौडी गाउँपालिका–४ को वडाध्यक्षमा शैलेन्द्र धानुक र हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी भएकी छन्।
Shares

प्रतिक्रिया